भैरहवा जेलमा रहेका रविको यस्तो छ दिनचर्या, भन्छन् – ‘केही छैन। जे छ, ठिकै छ। कारागार यस्तै हो’

बुटवल । कोभिडको बेला जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला कारागार भैरहवामा निर्माण गरेको एउटा सानो तथा छुट्टै कोठा छ , जुन अहिलेसम्म प्रयोगमा आएको थिएन । हो, त्यही कोठामा पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई राखिएको छ ।

कोभिडको बेलामा त्यो कोठा निर्माण भए पनि प्रयोगमा आएको थिएन । जहाँ रवि बस्न थालेको १७ दिन भयो ।अन्य कैदीसँग राख्दा लामिछाने असुरक्षित हुने भएकाले खाली कोठालाई प्रयोग गरिएको कारागार प्रशासनको भनाइ छ ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला कारागार रुपन्देहीमा २५ गते ल्याइएको हो ।

कारागार प्रशासनका अनुसार, पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई कारागारमा भेटघाट गर्न खासै कोही आउँदैनन् । सामान्यतः दैनिक दुई/चार जनाबाहेक उनलाई भेट्न कोही आउदैनन्  ।

आखिर उनले दिन कसरी कटाउने गरेका छन् त ? यसबारे जिज्ञासा राख्दा स्रोतका अनुसार कारागारभित्र लामिछानेले अध्ययनमा धेरै समय बिताउने गरेका छन् । ऐतिहासिक पुस्तकहरूमा उनको रुचि रहेको बताइएको छ । नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक उनको रोजाइमा परेका छन् ।

लामिछानेले कारागारभित्रै पकाइएको खाना खाने गरेका छन् । त्यसमा सामान्यतया दाल, भात, तरकारी नै रहने स्रोतको भनाइ छ ।

कारागार प्रशासनले भित्र रेडियो सुन्न र फोन गर्ने व्यवस्था बन्दीहरूलाई मिलाएको छ । कहिलेकाहीँ रवि लामिछानेले पनि फोनको प्रयोग गर्ने कारागार स्रोतको भनाई छ  ।

रवि विरुद्ध सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दा परेको हो । बुटवलको सुप्रिम सहकारीको रकम लगेर गोर्खा मिडियामा हिनामिना गरेको अभियोग लागेको छ ।

कारागार प्रशासनले पूर्व उप प्रधान तथा गृहमन्त्री रविलाई ‘तपाईंको केही माग छ कि, समस्या केही छ कि ?’ भनेर बेला – बेला चासो लिएर समेत सोध्ने गरेको छ । जवाफमा उनले ‘केही छैन । जे छ, ठिकै छ । कारागार यस्तै हो’ भन्ने गरेको स्रोत बताउँछ ।

प्रोटोन एजुकेसन
adb bank long