काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त भएको छ । एआईजीपीमा बढुवापछि रिक्त १० सीटमा बढुवा हुन एसएसपीहरूले राजनीतिक शक्ति धाइरहेका छन् । तर, आईजीपी दीपक थापाले भने एआईजी बढुवामा जस्तै वरिष्ठ र वरीयताबाटै बढुवा गर्ने अडान लिइरहेको बुझिएको छ ।
एआईजी बढुवा सिफारिसमा कुनै उजुरी परेन भने संभवत अर्काेसाता सम्ममा १० जना डीआईजीको पनि बढुवा सिफारिस हुने प्रहरी हेडक्वार्टर स्रोतले जानकारी दिएको छ ।
हाल १० डीआईजीको पद रिक्त रहेको छ । यी पदमा बढुवाका लागि १५ जना सिनियर एसएसपीहरू स्वाभाविक दावेदार मानिएका छन् । कतिपयले ब्याच उछिनेर बढुवा हुन चलखेल गरिरहेको बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार, डीआईजीपी बढुवाका लागि २०५६ असार ३ गते प्रहरी निरीक्षकमा भर्ना भई आधारभूत तालिमको १ सय १२ नम्बर टोली प्रमुख दावेदार मानिन्छ ।
यो टोलीका पनि तीन चरणमा एसएसपी बढुवा भएका अधिकृत नै खरो प्रतिस्पर्धामा उत्रिएका छन् । यस बाहेक अन्य लटका एसएसपीहरू पनि बढुवा हुन चलखेलमा सक्रिय रहेको स्रोतको भनाई रहेको छ । डीआईजीपी बढुवामा वरिष्ठता मिचिएन भने १ सय १२ नम्बर टोलीकोबीचमा नै चर्को प्रतिस्पर्धा हुने बताइएको छ ।
डीआईजीमा बढुवाको वरिष्ठ सूचीमा एसएसपीहरू विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी रहेका छन् । यसैगरी, एसएसपी शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा पनि बढुवाका दावेदार हुन् । डीआइजीपीमा बढुवाको दावेदारहरुमा गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन पनि रहेका छन् ।
बढुवा हुन ३ वटा टोलीको बिचमा प्रतिस्पर्धा छ । २०५४ चैत १८ मा भर्ना भएका सुदर्शन कोइराला र दीपक रेग्मी डीआईजी बन्ने दौडमा छन् । तर, उनीहरूसँगै भर्ना भएका दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी चाहिँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भैसकेका छन् ।
त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० जना डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत डीआईजीको प्रतिस्पर्धी हुन् ।
माथि उल्लेखित नामहरुमध्येबाट नै १० जना डीआईजीपीमा बढुवा हुने प्रहरी संगठन स्रोतले जानकारी दिएको छ । स्रोत भन्छ ‘यो टोली २०८० वैशाख २४ गते एसएसपी बढुवा भएको थियो ।’
प्रहरी हेडक्वाटरले रिक्त ६ एआईजीमा बढुवा सिफारिस गरिसकेको छ । त्यसैले रिक्त रहेका १० डीआईजीमा बढुवा हुन यतिखेर तीव्र प्रतिस्पर्धा र चलखेल सुरु भएको बताइन्छ । प्रहरी संगठनले डीआईजीमा बढुवाका लागि कार्य सम्पादनमा उत्कृष्ट, योग्य, क्षमतावान, वरिष्ठ र कुनै कारवाहीमा नपरेका एसएसपीहरूको सूची तयार पार्न थालेको बताइएको छ ।