रुपन्देहीमा उपनिर्वाचनको रन्को : पूर्व गृहमन्त्रीदेखि टिकट खोसिएका खिमलाल र दीपक बोहराकी नातिनीको चर्चा

बुटवल  । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र -३ मा उपनिर्वाचन हुने कुराले तातेको छ । राप्रपाका दीपक बोहोराले एमालेको समर्थनमा जितेको क्षेत्र हो यो । तर दीपक बोहोराको हालै निधन भएपछि उपनिर्वाचनको बहस शुरु भएको छ।

यो क्षेत्रका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण कुनै समय पार्टीभित्र र बाहिर चर्चित व्यक्ति थिए। रुपन्देहीको तिलोत्तमा निवासी खाणलाई कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिन्थ्यो। उनको प्रभाव यति थियो कि उनलाई ‘भावी सभापति’को रूपमा समेत हेरिन्थ्यो।

तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनको राजनीतिक छवि धमिलिएको छ। पछिल्लो समय उनी ‘गुमनाम’ जस्तै बनेका छन्।एक समय कांग्रेसको संस्थापन पक्षका बलिया नेता मानिने खाण पछिल्लो समय डा. शेखर कोइराला नजिक भएका छन्। खाण उपनिर्वाचनमा उठ्ने दाउमा छन् ।राप्रपाले दीपक बोहोराका छोरा वा नातिनिलाई उठाएर फाइदा उठाउने दाउमा देखिन्छ भने एमालेले खिमलाल भट्टराईलाई उठाउने चर्चा छ।

२०८० वैशाख २७ मा खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे। तत्कालीन गृहमन्त्री रहेका खाणले गृहसचिव टेकनारायण पाण्डेसँग रकम लेनदेनको कुराकानी गरेको प्रमाण फेला परेपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो। यो प्रकरणले उनको राजनीतिक करिअरमा ठूलो धक्का लाग्यो। सात महिना लामो कारागार बसाइपछि २०८० मंसिर २८ मा पाटन उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो।

उनै खाण राजनीतिमा कमब्याकको अवसरको पर्खाइमा देखिन्छन् । उनका लागि रुपन्देही -३ को उपनिर्वाचन एक अवसर हुन्सक्छ ।
रुपन्देही क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको २०८१ चैत १९ मा निधन भएपछि उपनिर्वाचनको तयारी भइरहेको छ। २०७९ को निर्वाचनमा बोहोराले तत्कालीन गृहमन्त्री खाणलाई पराजित गरेका थिए। बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा खाणले ३४ हजार ३६ मत मात्र प्राप्त गरेका थिए। यो हार खाणका लागि ठूलो झट्का थियो, किनकि उनी त्यतिबेला सत्तारूढ गठबन्धनका गृहमन्त्री थिए।

अब यो उपनिर्वाचनमार्फत खाण फेरि राजनीतिमा ‘कमब्याक’ गर्ने दाउमा छन्। तर, उनको बाटो सहज छैन। भुटानी शरणार्थी प्रकरणको मुद्दा अझै टुङ्गिएको छैन। स्थानीय कांग्रेस नेताहरूका अनुसार, खाणको उम्मेदवारीलाई लिएर मतदाताको विश्वास जित्न गाह्रो हुन सक्छ ।

पार्टीभित्रको अवस्था र विकल्पको खोजी
खाणको परिवारको राजनीतिक प्रभाव रुपन्देहीमा बलियो छ। उनकी श्रीमती मञ्जु खाण अहिले समानुपातिक सांसद छिन् भने सहोदर भाइ रामकृष्ण खाण तिलोत्तमा नगरपालिकाका मेयर र कांग्रेस रुपन्देहीका सभापति छन्। यद्यपि, भुटानी प्रकरणको मुद्दा टुङ्गो नलाग्दा कांग्रेसभित्र खाणको विकल्प खोज्ने चर्चा पनि चलिरहेको छ।

सम्भावित उम्मेदवारमा प्रमोद यादव र भरत शाहको नाम चर्चामा छ। यादव २०७९ मा रुपन्देही क्षेत्र नं. ४ मा सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए, भने शाह क्षेत्र नं. ५ मा एमालेका वासुदेव घिमिरेसँग हारेका थिए। यी नेताहरूलाई स्थानीय स्तरमा राम्रो समर्थन प्राप्त छ भने खाणको तुलनामा उनीहरूको छवि विवादित छैन।

रुपन्देही क्षेत्र नं. ३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन्। यो क्षेत्रमा शुद्धोधन, सिद्धार्थनगर, सियारी, ओमसतिया, मायादेवी, तिलोत्तमा र बुटवलका केही वडा पर्छन्। स्थानीय तहको परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। सात पालिकामध्ये कांग्रेसले ६ मा प्रमुख र २ मा उपप्रमुख जितेको छ। एमालेले १ पालिकामा प्रमुख र ४ मा उपप्रमुख जितेको छ, भने लोकतान्त्रिक समाजवादी दलले १ पालिकामा उपप्रमुख जितेको छ।

यो क्षेत्रमा २०७४ मा तत्कालीन एमाले नेता घनश्याम भुसालले जितेका थिए, भने २०७९ मा राप्रपाका बोहोराले बाजी मारे। अब हुने उपनिर्वाचनमा कांग्रेसले सात वर्षपछि यो क्षेत्रमा आफ्नो प्रभाव पुनः स्थापित गर्ने अवसर देख्छ। तर, खाणको उम्मेदवारीले यो लक्ष्यलाई जोखिममा पार्न सक्ने विश्लेषण पनि भइरहेको छ।

गएको संसदीय निर्वाचनमा राष्ट्रिय सभा सदस्यबाट राजिनामा दिएर रुपन्देही -५ को उम्मेदवार बनेका खिमलाल भट्टराईले उम्मेदवारी दर्ता समेत गराएका थिए तर पार्टीको आन्तरिक लफडाले तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरेले पनि उम्मेदवारी दर्ता गराएका थिए। दुवैले पार्टीकै तर्फबाट उम्मेदवारी दर्ता गराएपनि निर्वाचन आयोगले खिमलालको उम्मेदवारी बदर गर्दै बासुदेवको उम्मेदवारी कायम गरेको थियो । खासमा रुपन्देही -३ मा पर्ने तिलोत्तमा नगरका लोकप्रिय पूर्व मेयर बासुदेवले रुपन्देही-५ बाट चुनाव जिते । बासुदेव रुपन्देही -३ बाट उठ्न चाहेपनि त्यो बेला एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन गरेको थियो । त्यस्तै गएको निर्वाचनमा बोहोराको चुनावी कमाण्डर बनेर भाषण गर्दै हिडेकी नातिनीको अहिले पनि चर्चा छ,जसलाई राप्रपाले अघि सार्ने बताईन्छ ।

वाककलामा निपूर्ण बोहोराकी नातिनी स्वाती थापाले अघिल्लो निर्वाचनभरी नै भाषण गरेकी थिइन् । पार्टीको तर्फबाट निरञ्जन थापाले भाषण गर्थे।

जेठी श्रीमती मन्जुतर्फका छोरा गौरव बोहरा पाइलट छन् । उनी बुद्ध एयरको सिनियर पाइलट हुन् । निर्वाचनको समयमा उनी पनि बुवालाई जिताउन पूरै खटिएका थिए ।

कान्छी श्रीमती उन्नतितर्फ छोरा प्रज्वल आईटी इन्जिनियर हुन् र अहिले राजनीतिमा जोडिएका छन् ।

प्रज्वल र गौरवमध्ये एकलाई   अघि सार्ने चर्चा पनि छ । राप्रपाका धेरै स्थानीय कार्यकर्ताले इलाममा सुवास नेम्वाङको छोरा सुहाङलाई जस्तै यहाँ पनि प्रज्ज्व वा गौरवललाई अगाडि सार्नुपर्ने तर्क गर्दै आएका छन् ।

त्यसैगरी नातिनी स्वाती थापा गएको निर्वाचनमा मुख्य जिम्मेवारी लिएर मैदानमा खटिएकी थिइन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी हुने गरेकी छन् । आउने उपनिर्वाचनमा उनी अगाडि सर्छिन् वा प्रज्ज्वल र गौरवमध्ये कसैलाई साथ दिन्छिन् भन्ने अझै स्पष्ट छैन ।

त्यसो त रास्वपाले पनि उम्मेदवार उठाउन आन्तरिक तयारी गरेको छ । यसैगरी स्वतन्त्रका नाममा बालेन शाहको समर्थन लिएर केही युवाहरु उम्मेदवार बन्ने कसरतमा पनि लागेका छन् । उता माओबादीले पनि उपनिर्वाचन र उम्मेदवारका बिषयमा छलफल भैरहेको बताएको छ ।

प्रोटोन एजुकेसन
adb bank long