काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले तत्कालीन राजा र भारतीयको संरक्षणमा सशस्त्र द्वन्द्व सञ्चालन गरेको बताएका छन् ।
बुधबार राष्ट्रिय युवा संघ नेपालको स्वयंसेवक भेलालाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादीका नेताले आफूले जतिसुकै बलिदानपूर्ण संघर्ष गरेर गणतन्त्र ल्यायौँ भने पनि उनीहरूको वास्तविकता केही समय यताको घटनाक्रम र अभिव्यक्तिले पुष्टि गरेको बताएका छन् । ‘उनीहरूलाई संरक्षण गर्ने, प्रोत्साहन गर्ने को थिए भन्ने कुरा उनीहरूलाई सशस्त्र द्वन्द्वको समयमा जस जसले सहयोग दिए, उनीहरूले नै बाहिर ल्याइरहेका छन्’, पोखरेलले भने ।
नेपाली समाजमा हिंसात्मक कार्यलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्ने काम नेकपा एमालेले नै गरेको पोखरेलले दाबी गरेका छन् । झण्डै पौने पाँच सय कार्यकर्ता गुमाउँदा पनि हामीले विचलित नभई हिंसालाई शान्तिमा परिणत गर्ने कुराको अगुवाइ गर्यौँ, १२ बुँदे सहमतिका माध्यमबाट माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा सामेल गर्ने काम गर्यौँ’, उनले भने ।
एकै समयमा शान्तिपूर्ण आन्दोलन र हिंसात्मक आन्दोलन सफल नहुने बताउँदै पोखरेलले माओवादी हिंसात्मक आन्दोलन छाड्न तयार भएपछि मात्र २०६२ सालको जनआन्दोलन सफल भएको उनको भनाइ छ । त्यसको अगुवाइ नेकपा एमालेले गरेको उनको दाबी छ ।
शान्ति प्रक्रिया पछि माओवादीको अराजकता नियन्त्रण गर्न नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र युथफोर्सले गरेको पोखरेलले सुनाए। एक समय माओवादीले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेका बताउँदै उनले अहिले राजावादीहरू त्यही बाटो हिँडेका पोखरेलले बताएका छन् । माओवादीलाई जस्तै राजावादीलाई पनि वैधानिक बाटोमा आउन बाध्य पार्नु पर्ने र त्यसको लागि फेरी एक पटक युवाहरू जुरमुराएर उठ्नु पर्ने पोखरेलको धारणा छ ।
कतिपय नेपालको अवस्था पञ्चायतको बेलामा अति राम्रो थियो भन्ने भ्रम फिँजाउने प्रयास गरिरहेका उनले बताएका छन् । यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न उनले आग्रह गरे । राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको पोखरेलले उदाहरण प्रस्तुत गरेका छन् ।
पोखरेलले देश कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताए । एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको पोखरेलले प्रष्ट पारेका छन् । देशमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पनि पराजित गर्न आवश्यक रहेको बताउँदै अब त्यस दिशामा अघि बढ्नु पर्ने स्पष्ट पारेका छन् ।
पोखरेलले राजावादीले मोटरसाइकलमा आफ्नो शक्ति प्रदर्शन गरेका बताउँदै पोखरेलले मोटरसाइकल र्याली कस्तो हुन्छ भन्ने हेर्न मन भए नेकपा एमालेले चैत १८ गते काठमाडौँ आयोजना गर्ने र्याली हेर्न आउन राजावादीलाई आग्रह गरेका छन् ।