काठमाडौ । यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू हुँदैछ ।
गतवर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी भएकामा यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् ।
एसइइ परीक्षामा सामुदायिक र संस्थागत गरी ११ हजार २ सय १७ वटा विद्यालयहरूबाट पाँच लाख १४ हजार ७१ परिक्षार्थी सहभागि हुनेछन् ।
त्यसमा छात्रा २ लाख ५७ हजार ७३०, छात्र २ लाख ५६ हजार ३११ र अन्य ३० परीक्षार्थीहरु छन् । ति परिक्षार्थीहरुका लागि नेपालमा २ हजार ७९ र जापानमा एक गरी कुल २ हजार ८० परीक्षा केन्द्र तोकीएको छ । परीक्षामा केन्द्राध्यक्ष,सहायक केन्द्रध्यक्ष, निरीक्षक, सहायक सहयोगी, कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ८ सय १७ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटिनेछन्।
यो पल्टको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
यस्तै, यसपाली कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् । यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् ।
परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा निषेध गरीएका कुनै पनि सामाग्री नलान र होहल्ला नगरीकन निर्धक्क भएर परीक्षा दिन पनि बोर्डले आग्रह गरेको छ ।