जतिबेला एमाले भूमिकामा आउँछ, त्यतिबेला महिलाको नेतृत्व स्थापित गर्दछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्थम्भ भएको बताएका छन् ।

शनिबार नेकपा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्धनका लागि राजनीतिकर्मी भूमिका विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो राजनीतिक परिवर्तन पछाडि समावेशितालाई संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रूपमा लिइएको बताएका हुन् ।

नेपालको संविधान यस अर्थमा उदाहरणीय छ भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुने गरेको पोखरेलले स्पष्ट पारेका छन् ।

नेपालको संविधान र निर्वाचन सम्बन्धी कानुनले नै महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको उनले बताए । स्थानीय तहमा ४० प्रतिशत भन्दा माथि र प्रदेश तथा प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको पोखरेलको भनाइ छ ।

महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको पनि उनले स्पष्ट पारेका छन् । पार्टीका दस्ताबेजमा महिला सहभागिता सुनिश्चित गर्ने पार्टी नेकपा एमाले नै भएको पनि उनले दाबी गरे। ‘जतिबेला एमाले भूमिकामा आउँछ, त्यतिबेला महिलाको नेतृत्व स्थापित गर्दछ’, उनले भने ।

नेकपा एमालेले नेपालको पहिला राष्ट्रपति, पहिलो प्रधानन्यायाधीश, पहिलो सभामुख बनाउन भूमिका खेलेको उनले स्पष्ट पारेका छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो महिला मुख्यमन्त्री पनि एमालेले नै बनाएको उनले स्मरण गराएका छन् । त्यस्तै पहिलो महिला मुख्य सचिव पनि एमाले नेतृत्वमा आएकै बेला भएको पोखरेलले बताए । ‘यो विषयको नेतृत्वकर्ता पार्टी हो नेकपा एमाले, हामीले यो तथ्यलाई स्थापित गरेका छौँ’, उनले भने ।

गएको स्थानीय तह निर्वाचनमा संविधानको अपव्याख्या गरेर एमाले विरुद्ध गठबन्धन गर्ने दलहरूले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा अलग अलग पार्टीका नाममा पुरुष उम्मेदवार उठाएकाले यस पटक स्थानीय तहमा महिला सहभागिता न्यून रहेको पोखरेलले बताएका छन् ।

नेपालको संविधानले हरेक क्षेत्रमा शतप्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि पुरुष सहभागिता ६६ प्रतिशत भन्दा माथि हुन नसक्ने पोखरेलले बताए। तर व्यवहारतः महिला सहभागिता ३३ प्रतिशतबाट माथि जान नसकेको बताउँदै उनले यसको लागि महिला सशक्तीकरण आवश्यक रहेको स्पष्ट पारेका छन् । आर्थिक सशक्तीकरण नभई सामाजिक सशक्तीकरण सहज नभएको पोखरेलले बताए । ‘जबसम्म कमाइमा महिलाको सहभागिता बढ्दैन, तबसम्म राजनीतिमा महिला सहभागिता बढ्दैन, महिला सहभागिता बढाउने कुरा उत्पादनको ढाँचामा परिवर्तनसँग सम्बन्धित छ’, उनले भने।

सामाजिक र सांस्कृतिक मान्यताको कारण पनि महिला पछाडि पारिएको पोखरेलले बताएका छन्। तर अहिले पनि महिलाहरूको तिनै कुरामा आशक्ति देखिएको बताउँदै उनले त्यसलाई चिरेर महिला आन्दोलन अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

प्रोटोन एजुकेसन
adb bank long