झापा । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना माथी खुकुरी प्रहार गरेको आरोपमा बिर्तामोड ४ का खगेन्द्र खालिङ्ग पक्राउ परेका छन् ।
खालिङ्गलाई बिर्तामोडबाटै पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
घटनामा अन्य युवाहरु समेत संलग्न भएको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।
इन्चार्ज आङ्देम्बेसहित ३ युवालाई खालिङले काम छ भनि सोमबार राति घरमा बोलाएर खुकुरी प्रहार गरेका थिए ।
हत्या गर्ने योजनासहित भएको आक्रमणबाट तीनै जना गम्भिर घाईते भएका थिए। घाईतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भईरहेको बुझिएको छ । ईन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भईरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो। खुकुरीबाट उनको अनुहारमा गम्भिर चोट लागेको छ भने अन्यको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ ।