पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताएका छन् ।
सोमबार पर्साको पोखरीया नगरपालिका नगर कमिटीले आयोजना गरेको दोश्रो नगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको बताएका हुन् ।
एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मन्त्री गुप्ताको दाबी छ । मन्त्री गुप्ताले एमाले राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी भएको साथै देशमा सकारात्मक परिवर्तन ल्याउन एमाले पार्टी बनेको बताएका हुन् ।
‘हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्धेश्य काँधमा बोकेर जन्मिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन। यो देश बनाउन बनेको पार्टी हो। देशमा परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउन यो पार्टी बनेको हो,’ उनले भने ।
उनले नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको पनि बताए। साथै नगर भित्र रहेको नेकपा एमालेका नेता एवं कार्यकर्ताहरुलाई पनि परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न मन्त्री गुप्ताले निर्देशन दिए । उनले नेपाली जनताले सजिलोसँग बाँच्न पाउनुपर्छ भन्नु नै एमालेको मुख्य एजेन्डा रहेको बताए।