क्यानडाको नयाँ प्रधानमन्त्रीमा लिबेरल पार्टीका मार्क कार्नी

काठमाडौ । नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले पूर्व बैंकर मार्क कार्नीलाई क्यानडाको नयाँ नेता र प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ।

सो पार्टीले सोमबार आफ्नो घोषणामा कार्नीले वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिने बताएको छ।लिबरल पार्टीका अध्यक्ष सचित मेहराले लिबरल नेतृत्वको दौडमा ब्रिटिस र क्यानेडियन केन्द्रीय बैंकका पूर्वप्रमुख मार्क कार्नीको विजय घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेतृत्व प्रतिस्पर्धामा कार्नीले कुल १३१,६७४ मत प्राप्त गरे जुन कुल मतको लगभग ८५.९ प्रतिशत हो।

उनले पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्ड र पूर्वसरकारी सदन नेता करिना गोल्ड र पूर्व संसद सदस्य फ्र्याङ्क बेलिसलाई पछि पारे। क्रिस्टिया फ्रिल्यान्डले ११,१३४, करिना गोल्डले ४,७८५ र फ्र्याङ्क बेलिसले ४,०३८ मत प्राप्त गरे।

५९ वर्षीय कार्नीले अब प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिनेछन्। ट्रुडोले जनवरीमा राजीनामाको घोषणा गरेका थिए। यद्यपि कार्नीले शपथ नखाँदासम्म ट्रुडो नै प्रधानमन्त्री रहनेछन्।

क्यानडाले धेरै कुरामा संकट सामना गरिरहेका बेला मार्क कार्नीले देशको जिम्मेवारी सम्हाल्दै छन्। क्यानडाले सामना गरिरहेको सबैभन्दा ठूलो संकट अमेरिकाबाट हो, जसका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ५१औँ राज्य बनाउन चाहेको बताइरहेका छन् भने क्यानडाविरुद्ध २५ प्रतिशत आयात शुल्क लगाउने घोषणासमेत गरेका छन्।

प्रोटोन एजुकेसन
adb bank long