काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको बाटोमा लगातार अगाडि बढिरहेको बताएका छन् ।
आइतबार धनगढीमा धनगढी सभागृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धनगढी सभा हल निरन्तर विकासको प्रमाण भएको बताएका हुन् । ओलीले देश विकासको काममा योगदान पुर्याउन पनि सबैलाई आह्वान गरेका छन् ।
व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेलाई केही वर्ष यताको विकासलाई हेर्न उनले आग्रह गरेका छन् । ओलीले सडक, पुल, सिँचाई, कलेज, विश्वविद्यालय, स्वास्थ्य, आर्थिक, सामाजिक हरेक हरेक क्षेत्रका विकास भएको बताएका छन् । ‘केही भएको छैन भन्ने होइन’, ओलीले भने ।
ओलीले विकासका काममा स्थानीय सरकारले अघि बढाएका योजनालाई प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्ने बताएका छन् । तपाईँहरू योजना अगाडि बढाउँदै जानुस्, काम अगाडि बढ्दै जाने छन्, हामी काम अगाडि बढाउँदै लैजाने छौँ’, उनले भने।
ओलीले सबै नेपाली मिलेर देश विकास गर्नुपर्ने बताएका छन्। ‘देश विकास हुन्छ, हामी गर्छौँ देश विकास, हामीले गर्ने हो देशको विकास, अरू कसैले आएर गर्ने होइन, हामी भनेको हामी सबै नेपालीले मिलेर गर्छौँ’, ओलीले भने ।