काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ ।
जनतातिर फर्किने भन्दै माओवादीले यही फागुन ५ र १७ गते कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।
पछिल्लो समय पार्टीका विभिन्न जनसंगठनको भेला, संसदमा अध्यादेश पेसलगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।
नयाँ समय तालिका अनुसार आज बिहीबार महोत्तरी, २३ गते सर्लाही, २४ गते रौतहट, २५ गते बारा र २६ गते पर्सामा कार्यक्रम हुनेछ ।
यस्तै बागमती प्रदेशअन्तर्गत चितवनमा २७ गते कार्यक्रम आयोजना गरिएको छ । यसबीचमै २८ गते अध्यक्ष प्रचण्डसहितका बुटवलमा मगर मोर्चाको उद्घाटनमा सहभागी हुनेछन् ।
चैत २ गते नवलपुर (नवलपरासी पूर्व), ३ गते परासी (नवलपरासी पश्चिम) मा कार्यक्रम हुनेछ ।
चैत ४ गते रुपन्देही, ५ गते कपिलवस्तु, ६ गते दाङ, ७ गते बाँके र ८ गते बर्दियामा कार्यक्रम राखिएको छ । यसबीचमै ९ गते जनकपुरमा समाजवादी मोर्चाको जनसभामा नेताहरु सहभागी हुनेछन् ।
अभियान अन्तर्गत सुदूरपश्चिममा चैत ११ र १२ गते कार्यक्रम आयोजना हुनेछ । ११ गते कैलाली र १२ गते कञ्चनपुरमा कार्यक्रम गरेर अभियान सकिने माओवादीले जनाएको छ ।