झापा । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले शहीदको सपना पुरा गर्न नसक्ने बताएका छन् ।
नेकपा एमाले झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उनले शहीदको सपना पुरा गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताएका हुन् । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको सपना पुरा हुने बताउँदै उनले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् ।
माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३ औं शहीद स्मृति दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्ने अभियानमा जोडिन आग्रह गर्दै भने – ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु मुलप्रवाहमा समाहित हुनुहोस् ।’
नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने शहीदहरुको सपना साकार पार्न एमाले बाहेकले खुट्टा कमाउने अवस्था छ, उनले भने – अरुले खुट्टा लरबराउन सक्छन्, बाटो विराउन सक्छन् । गन्तव्यहिन यात्रा रोज्न सक्छन् । एमाले शहीदको सपना पुरा गर्न सधैं प्रतिवद्ध भई लागिरहनेछ ।
नेता बरालले संविधानका सवल पक्षलाई अघि बढाउदै कमजोरी रहेको अवस्थामा सच्याएर जानुपर्ने बताएका छन् । संविधान कार्यान्वयनको चरणमा कुनै कमजोरीहरु रहेको खण्डमा सच्याएर जान सकिने उनको धारणा छ । कार्यक्रमका प्रमुख अतिथि बरालले नेपाली कांग्रेससँग प्रतिष्पर्धा र सहकार्य रहने बताएका छन् ।
कार्यक्रममा नेत्र घिमिरेकी छोरी कल्पना घिमिरेले शहीद परिवारलाई कुनै स्वार्थ नरहेको बताएकी छन् । विगतमा सबैखाले समस्याहरु भोगियो, अब जनताको सुख नै शहीद परिवारको एक मात्र स्वार्थ हुने उनको धारणा छ ।
सुखानी शहीदहरुको प्रेरणाले नै लाखौं नेपालीहरु नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्न सफल भएको उनको भनाई छ । उनले शहीदले देखाएको बाटो नभुल्न आग्रह गर्दै जनताको चाहनालाई प्राथमिकतामा राखेर जानुपर्ने बताएका छन् ।
वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।