केपी ओली : कस्को नजरमा कस्तो ?

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनेक मानिसले अनेक तरिकाले व्याख्या गर्ने गरेका छन् । कतिले उनको सामिप्यता समेत नपाए पनि सामाजिक संजाल, भाषण र बिरोधीहरूको बुझाइलाई लिएर आफ्नो धारणा तयार गर्ने गरेको पाइन्छ भने उनको सामिप्यतामा रहेकाहरूले उनलाई एक जब्बर, निडर, सबै कुराको ज्ञान भएको नेताको रूपमा पनि लिने गरेको पाइन्छ।

सोमबार उनै केपी ओलीको बिषयमा लेखिएको ‘केपी शर्मा ओली: सपना, संघर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण कार्यक्रमलाई उपस्थित पूर्व राष्ट्रपति देखि कलाकार, बिष्लेषक, उद्यमी, बैकर्स सम्मले ओलीको आ-आफ्नै ढंगले विश्लेषण गरेका छन् ।

पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीका नजरमा केपी ओली
भण्डारीले ओली ओली नेता मात्र नभएर राजनेता भएको बताएकी छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी भण्डारीले ओली स्वप्नद्रष्टा नेता भएको बताएकी हुन् । आफू राष्ट्रपति भएको बेला ओली प्रधानमन्त्री हुँदा निक्कै समन्वयात्मक भूमिका खेलेको  स्मरण गर्दै भण्डारीले ओलीमा देश र समाजको विकास प्रतिको तीब्र हुटहुटी भएको बताएकी छन् । ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिका, महाभूकम्पले भत्कारएका संरचना बनाउन देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त भएको सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितहरुको उपचारमा देखिएको प्रभाकारिता एवं आर्थिक समृद्धि हाँसिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु’, भण्डारीले भनिन् ।

भण्डारीले ओली आर्थिक, सामाजिक अभियानको कुशल अभियन्ता भएको समेत बताएकी छन् । ओलीमा तुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका भएको भण्डारीको टिप्पणी छ ।  ओली एक कुशल योजनाकार, संगठक र रणनीतिकार भएको उनको भनाइ छ ।

एमाले महासचिव शंकर पोखरेलको नजरमा ओली
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओली विचार सहितको नेता भएको बताएका छन् । उनले समाजलाई आफ्नो विचारमा डोर्याउन नसक्ने प्राविधिक रूपमा मात्र नेता बन्ने स्पष्ट पार्दै  केपी ओली विचार सहित नेता भएको बताएका छन् ।‘केपी शर्मा ओली विचार सहितको नेता हो’, पोखरेलले भने ।

केपी शर्मा ओली झापा विद्रोहमा पनि मानव हत्या विरुद्ध असहमति राख्ने नेता भएको उनले बताए । ओली मदन भण्डारीको जनताको बहुदलीय जनवादको मस्यौदाकार समेत रहनुभएको स्पष्ट पार्दै धैर्यता नगुमाउँदा विचारलाई स्थापित गराउन सकिन्छ भन्ने मान्यता ओलीले पुष्टि गरेको पोखरेलले बताए ।

समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार ओली संगठित विचार र योजनाकार रहेको उनले बताए । समृद्ध नेपाल, सुखी नेपाली परिपूर्ण लोकतन्त्रको आयाम भएको पोखरेलले स्पष्ट पारे।

केपी ओली सफल राजनीतिज्ञ र कुशल राज्य सञ्चालक भएको पोखरेलको टिप्पणी छ । राजनीतिसँगै शासकीय जीवनमा पनि ओली सफल नेता भएको पोखरेलले बताए ।

ओली नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र भएको कारण ओली माथि सामाजिक सञ्जाल मार्फत आक्रमण गरिएको उनको तर्क छ । काम गर्नेलाई काम गर्ने अनुकूल वातावरण बनाउनको लागि भूमिका खेल्न नसक्ने हो भने राष्ट्रको विकास र समृद्धिको यात्रा अघि बढाउन निक्कै कठिन हुने पोखरेलले स्पष्ट पारेका छन् ।

संविधानविद् एबं पूर्वराजदूत नीलाम्बर आचार्यको नजरमा ओली
पूर्वराजदूत नीलाम्बर आचार्यले केपी ओली जस्तोसुकै अप्ठेरोमा पनि लड्न सक्ने आत्मबल भएको व्यक्ति भएको बताएका छन ।

आचार्यले केपी ओलीबाट धेरै बल प्रेरणा र सफलता प्राप्त गर्न सकिने बताएका छन् । आत्मबल छ, जीवनमा जतिसुकै अप्ठेरो आए पनि हार नखाने आँट छ, उद्देश्य छ, लक्ष छ, देशका निमित्त खटिरहने आचरण छ, निरन्तर अध्ययन गरिराख्ने बानी छ, ज्ञान लिइराख्ने बानी छ, यो तपाईँ हामीले सिक्नु पर्ने कुरा हो, राजनीतिमा त यो अति आवश्यक हुन्छ’, उनले भने ।

आचार्यले केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको स्वप्नद्रष्टा भएको बताएका छन् । ‘केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाकार हो, सपनाकार हो, योजनाकार हो, हामी समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ भने समृद्ध नेपाल निर्माण गर्ने शक्ति चाहिन्छ, पुरै देशलाई जोड्नु पर्छ, एकीकृत गर्नु पर्छ, विभाजित नेपालले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सकिँदैन’, उनले भने।

मुलुकका प्रमुख दुई शक्ति सधैँ भिडिराख्ने हो भने समृद्ध नेपाल निर्माण हुन नसक्ने आचार्यको बुझाई छ। ‘कम्तीमा एक/दुई पटक दुईवटा ठुला शक्ति कांग्रेस र एमाले मिलेर जानु पर्छ, होइन भने त्यो पुरा हुन सक्दैन, दुवैको सहकार्यले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा हुन्छ’, उनले भने ।

उद्योग बाणिज्य महासंधका अध्यक्ष चन्द्रप्रसाद ढकालको नजरमा ओली
महासंघ अध्यक्ष ढकालले ओली सानो सानो कुरामा पनि सूक्ष्म अध्यायन राख्ने नेता भएको बताएका छन् । ढकालले ओलीसंगै कम्बोडिया जाँदा कम्बोडियामा स्वागतको लागि राखेको केकमा कम्बोडियाको नक्सा राखेको र सो नक्साको सानो टुक्रा भाचिएको कुरा सम्झिदै ओली बाहेक अरू कसैले सो कुरा चाल नपाएको स्मरण गरेका छन् । उनले ओली सानो सानो कुरामा पनि ध्यान दिने नेता भएको बताएका हुन् ।

अर्को एक सन्दर्भ जोड्दै ढकालले कुनै एक उद्योग बाणिज्य महासंघको कार्यक्रममा ओली र एकजना बिदेशी पाहुनाबीच भेट भएपछि गफगाफमा जहाज समेत छुटेको बताएका छन् । पछि उनै बिदेशी पाहुनासंग भेट हुँदा उनले तिम्रो प्रधानमन्त्रीले नजानेको केही रहेनछ, सबै कुराको ज्ञान रहेछ भनेको ढकालले स्मरण गरेका छन् ।

नायिका केकी अधिकारीको नजरमा ओली
नायिका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली सबै खालका सल्लाह, सुझाव र गुनासो मज्जाले सुन्न सक्ने व्यक्तित्व भएको बताएकी छन् ।

अधिकारीले ओलीमा मिजास र ऊर्जा दुवै भएको बताएकी छन् । ‘उहाँ मिजासिलो र ऊर्जाशील व्यक्तित्व हुनुहुन्छ, मैले सधैँ उहाँलाई त्यस्तो पाएको छु’, अधिकारीले भनिन् ।

प्राप्त गरेको मञ्च र ख्यातिलाई देश र समाजको हितको लागि प्रयोग गर्नुपर्ने सुझाव ओलीले सधैँ दिने गरेको अधिकारीले बताएकी छन् । ओलीको नेतृत्वमा देशले समृद्धि र सुख प्राप्त गर्ने विश्वास अधिकारीले व्यक्त गरेकी छन् ।

पत्रकार कृष्ण मुरारी भण्डारीको नजरमा ओली
भण्डारीले ओली समकालीन नेताको तुलनामा अद्भुत क्षमता र आलोचनात्मक चेत भएको नेता  भएको बताएका छन् । उखान टुक्का र विचारले तुरून्तै जवाफ दिन सक्ने र सपना भएको नेता भएका कारण ओलीले आफ्नो यो प्रधानमन्त्री कार्यकाललाई अन्तिम कार्यकाल सम्झी तिव्र गतिमा आफ्ना सपना साकार पारेर समृद्ध नेपाल सुखी नेपालीको कार्य पूरा गर्नुपर्ने बताएका छन।

यसका साथै भण्डारीले पार्टी बनाउने सवालमा पनि आफ्नो अन्तिम अध्यक्ष सम्झि पार्टी निर्माणमा लाग्न प्रेरित गरेका छन् ।

प्रकाश सपुतको नजरमा ओली
कलाकार प्रकाश सपुतले ओली नेपाली राजनीतिका अद्भुत व्यक्तित्व भएको बताउनुभएको छ ।

सपुतले ओलीबाट संघर्ष गर्न सिक्नु पर्ने बताएका छन् । ओलीको राजनीति मात्र होइन कला, साहित्य र व्यङ्ग्य चेत निक्कै माथि रहेको उनले बताए । ‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी छ’, सपुतले भने ।

केपी ओलीमा उमेर भन्दा बढीको युवा सोच भएको उनले बताएका छन । ओलीमा त्यस्तै स्मरण शक्ति भएको आफूले अनुभूति गरेको सपुतले सुनाए । केपी ओली र उहाँको पुस्ताले नेपालमा समृद्धिको सपना बुनेको भन्दै अबका नेतामा पनि त्यस्तै  बिम्ब देख्न चाहेको बताएका छन् ।

लोकार्पण कार्यक्रममा सपुतले म, केपी ओली र गणेश पाण्डे (लोकार्पित पुस्तकका लेखक) यो समाजका बहुप्रतिभाशाली भएको भन्दा सभाहल हासोले गुञ्जेको थियो ।

प्रोटोन एजुकेसन
adb bank long