काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले नेपाली पत्रकारहरूको लेखनमा मात्र होइन समाज परिवर्तनको आन्दोलनमा पनि महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले प्रेस चौतारी आबद्ध पत्रकार सधैँ श्रमजीवी जनताको पक्षमा रहेको बताएका हुन् । ‘व्यावसायिक पत्रकारिता भनेको नाफा कमाउने मात्र होइन, मुलुकको सार्वभौमसत्ता र श्रमजीवी वर्गका पक्षमा आवाज उठ्नु हो, कुनै पनि पत्रकार विज्ञापनको नाममा बिक्ने छैनन्, व्यावसायिक पत्रकारिता भनेको देश विरुद्धको गद्दारी होइन’, उनले भने ।
प्रेस चौतारी नेपाल “समृद्ध नेपाल सुखी नेपाली” का आकाङ्क्षा पुरा गर्ने अभियानमा सहयोगीको रूपमा रहेको बस्नेतले स्पष्ट पारेका छन् । ‘आवाज विहीनहरूको आवाज उठाएर सबैलाई देश बनाउने अभियानमा जुट्नु पर्छ भनेर प्रेस चौतारी नेपाल लाग्ने छ’, उनले भने । समृद्ध नेपाल, सुखी नेपालीको अभियान अघि बढाउँदा सो अभियान अघि बढाउने व्यक्ति केपी शर्मा ओली र एमाले माथि आक्रमणको प्रयास भएको बस्नेतले बताए । पार्टीको नीति र नेतृत्व माथि आक्रमण हुँदा पार्टीका नेताहरूलाई नै विभाजित गरेर पार्टी भित्रै पनि लाभ लिन खोज्ने प्रवृत्ति मौलाएको भन्दै उनले आलोचना गरेका छन् । ‘प्रेस चौतारी नेपाल नेकपा एमालेको जनसंगठन भएको नाताले पार्टीको मूल नेतृत्वलाई बोकेर हिँड्छ, नेकपा एमाले भित्र आज कुनै गुट उपगुट छैन’, बस्नेतले भने ।
बस्नेतले नेपाल पत्रकार महासंघका पठाइएको पत्रकारहरू पनि देशमा तथ्यको आधारमा सत्य स्थापित गर्न लाग्नु पर्नेमा जोड दिएका छन् । पत्रकार महासंघमा पुग्ने बित्तिकै आफू ठुला भयौँ भन्ने भ्रममा नपर्न पनि निर्वाचित पत्रकारहरूलाई उनले चेतावनी दिएका छन् । देश बनाउन लागेका व्यक्तिलाई घोची घोची घाइते बनाउने र हामीलाई सोधेर मात्र कानुन बनाउन भन्ने प्रवृत्ति छाड्न बस्नेतले आग्रह गरेका छन् ।
प्रेस स्वतन्त्राको विषयमा सबैभन्दा गम्भीर र जिम्मेवार प्रेस चौतारी नेपाल भएको नबिर्सन उनले आग्रह गरे । हिजो आफ्नै पार्टी सरकारमा हुँदा पनि सरकारले ल्याएको कानुनका विरुद्ध प्रेस चौतारी नेपाल आन्दोलनमा उत्रिएको कुरा नबिर्सन उनले चेतावनी दिए ।
समृद्धिको अभियान अघि बढाउन सामाजिक सञ्जाल मार्फत सरका र नेतृत्व विरुद्ध भइरहेको आक्रमणलाई परास्त गर्न लाग्नु पर्ने बस्नेतको धारणा छ । यो काममा नलाग्दासम्म प्रेस चौतारी आबद्ध पत्रकारले पत्रकारिताको धर्म निर्वाह गर्न नसक्ने बस्नेतले स्पष्ट पारेका छन् । ‘जुन दिनसम्म हामी निदाएको नाटक गरेर बस्ने छौँ, त्यस दिनसम्म आक्रमण भइरहने छ’, उनले भने ।
आजको दिनमा सामाजिक सञ्जालको लडाई सबैभन्दा ठुलो लडाइँ भएको बस्नेतले बताएका छन् । सो मोर्चामा खरोसँग उत्रिने व्यक्ति मात्र सफल हुने र उसले देश, सरकार र नेतृत्वलाई सफल बनाउने बस्नेतले स्पष्ट पारेका छन् ।
विरोधीसँग प्रतिरोधी क्षमता विकास गर्न पनि उनले चौतारीका सदस्यलाई आग्रह गरेका छन् । जसले विरोधीसँग प्रतिरोध गर्न सक्दैन, ऊ अघि बढ्न नसक्ने उनले स्पष्ट पारेका छन् ।