काठमाडौ । जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न भन्दै सरकारले हिउँदे अधिवेशन अगाडी ल्याएका छ अध्यादेश हिउँदे अधिवेशन सुरू भएको करिब एक महिना हुँदा पनि संसदमा पेस हुन सकेका छैनन् ।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा सत्ताका दुई ठुला दल काङ्ग्रेस एमालेको बहुमत पुगेपनि राष्ट्रिय सभामा सत्ता सहकार्यमा रहेका अन्य दलले सहयोग नगर्दा यी दुई दलको मात्र बहुमत पुग्दैन ।
यही सरकारको कमजोरीलाई लिएर सत्तामा रहेका केही साना दलले अहिले राम्रो बार्गेनिङ गरिरहेका छन् । जसमध्येको एक हो, उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा), नेपाल।
राजनीतिमा बार्गेनिङ गर्न माहिर उपेन्द्र सत्ता र शक्तिका भोका मानिन्छन् । गएको संघीय निर्वाचनमा गृहजिल्ला सप्तरीबाट पराजित उपेन्द्र बार्गेनिङ गरेरै बाराका सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उनको ठाँउमा उपनिर्वाचनमा निर्वाचित भई संसद छिरेका हुन् । संसद छिरेपछि उनले प्रत्येक पटकका सरकार गठनमा बार्गेनिङ गर्दै आइरहेका छन् । सरकारलाई अप्ठ्यारो पर्नासाथ बार्गेनिङ गर्ने उनको पर्याय नै भइसकेको छ ।
यसपटक पनि उनीसंग राष्ट्रियसभामा रहेको ३ मत बार्गेनिङका लागि ठुलै हतियार बनेको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्षसहित माओवादी १८, कांग्रेस १६, एमाले ११, नेकपा एस ८, जसपा नेपाल ३, लोसपा १ र जनमोर्चाको १ सीट छ । त्यस्तै राष्ट्रपतिबाट मनोनित बामदेव गौतमले अध्यादेशको पक्षमा उभिने निर्णय गरेका छन् । जसपा र लोसपाले विपक्षमा उभिँदा सत्तापक्षमा २७ सीटमात्र हुन्छ । वामदेवको मत थपिँदा पनि बहुमतका लागि आवश्यक २ सीट पुग्दैन । जसपा नेपालले सहयोग गरेमा राष्ट्रिय सभाबाट अध्यादेश पास हुनसक्छ ।
यही सरकारको कमजोरी समातेर उपेन्द्र सत्ता बार्गेनिङमा लागेका छन् । यसअघी नै भूमि अध्यादेशको बिपक्षमा रहेको निर्णय गरेको जसपाले आज (शुक्रवार) पुन: सोही अध्यादेशबारे अन्तर्क्रिया गर्नु र प्रमुख वक्ता उपेन्द्र स्वयं हुनु बार्गेनिङमा कुरा मिलेको हो वा बार्गेनिङ बढाउन हो, त्यो भने छिट्टै पुष्टि हुने नै छ।
आज शुक्रबार जसपा नेपाल निकट बौद्धिक पेशाकर्मी महासंघले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरूको सहभागितामा भूमि अध्यादेश उपर बृहत् अन्तरक्रिया गर्न लागेको हो।
काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटको मैत्री हलमा दिउँसो आयोजना गरेको उक्त अन्तर्क्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रित गरिएको छ।
यसैगरी, एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका उपाध्यक्षद्वय राजकिशोर यादव र मृगेन्द्र सिंह यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
विज्ञ वक्ताको रुपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्र प्रसाद यादवलाई आमन्त्रित गरिएको आयोजकले जनाएको छ।
पछिल्लो समय अध्यादेश पास नहुँदा सत्ताका दुई ठुला दललाई नैतिक संकट पर्ने हुँदा उनीहरू उपेन्द्रलाई मनाउन लागिपरिरहेको बुझिएको छ ।
यसअघी उपेन्द्रले संघीय सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्रालय वा मधेश सरकारको मुख्यमन्त्री दिएमा आफुहरू सहयोग गर्न तयार रहेको बताएका थिए । तर ती दुवै संभव नभएको भन्दै सत्तारूढ दलले नेकपा एकीकृत समाजवादीलाई फकाउने जिम्मा काङ्ग्रेसलाई दिएको थियो ।
समाजवादीबाट पनि सोचेजस्तो परिणाम ननिस्किएपछि पुन: उपेन्द्रलाई नै मनाउने प्रयत्नमा सरकार छ । अहिले मधेश प्रदेशको नेतृत्व काङ्ग्रेसले लिन खोजेको स्रोतको दावी छ । पछिल्लो समय मधेशमा कमजोर देखिएको काङ्ग्रेसले मुख्यमन्त्री लिएर राजनीतिक क्रियाकलापलाई अगाडी बढाउने सोचमा देखिन्छ ।
यता जसपालाई स्वास्थ्य, भौतिक वा शहरी विकाश मध्ये कुनै एक मन्त्रालय अब हुने मन्त्री परिषद्को फेरबदलमा दिनेगरी मनाउन लागेको स्रोतको दावी छ । जसको उपज आजको अन्तर्क्रिया रहेको बुझिएको छ ।