स्ववियु निर्वाचनको बिषयलाई लिएर काङ्ग्रेसका दुई समूहबीच झडप

विराटनगर । स्ववियुको निर्वाचन नजिकिएसंगै विभिन्न खालका गतिविधि हुने क्रम जारी छ । आज बिहीबार विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई समूह बिच झडप भएको छ । आक्रमण गर्ने समूह हातहतियार सहित कुटपिटमा उत्रिएको पाइएको प्रहरीको भनाई छ। झडपमा परी दुई जना घाइते भएका छन्।

क्याम्पसमा देउवा समूह (संस्थापन) र शेखर कोइराला (संस्थापन इतर) समूहका विद्यार्थीबीच कुटाकुट भएको हो। घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका छन्। उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ।

आउँदै गरेको स्ववियु निर्वाचनको विषयलाई लिएर केही दिनअघि देखि नै यी दुई समूहको बिचमा विवाद हुँदै आएको थियो। बिहीबार बिहान स्ववियु निर्वाचनको भागबन्डा मिलाउने बारेमा आयोजना गरिएको छलफलको क्रममा हात हालाहाल भएको हो । छलफल गर्न गएको बेलामा आफूमाथि हातपात भएको पोखरेलले बताए।

स्ववियु सभापति जसवन्त पौडेल कांग्रेसको संस्थापन पक्षका हुन् उनकै नेतृत्वमा रहेको समूह स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको उनले बताए।
प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रोटोन एजुकेसन
adb bank long