सापटी लिएर शिवरात्रिका दिन प्रतिसेकेण्ड एकहजार लिटर मेलम्चीको पानी बागमतीमा बगाइयो

Telecom

काठमाडौ । महाशिवरात्रिको दिन पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले वाग्मती नदीमा प्रतिसेकेण्ड एकहजार लिटर मेलम्चीको पानी बगाइएको छ । एकीकृत बागमती सभ्यता बिकाश समिति अन्तर्गतको बागमती सुधार आयोजनाले मेलम्ची खानेपानी विकास समितिसंग सापटी लिएर सो पानी बागमती नदीमा बगाएको हो ।

पानी आज (बिहीबार) बिहान ८ बजेसम्म बगाउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताएका छन्।

लामिछानेका अनुसार अघिपछि वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब ६ सय लिटर बगाउने गरेकोमा हिजो महाशिवरात्रिको दिन प्रतिसेकेण्ड एकहजार लिटर बगाइएको हो । ’हामीले अरु समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेका थियौँ । आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ । त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ’, उनले भने, ‘शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरु पर्व तथा दैनिक रूपमा वाग्मतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ ।’

गत वर्षको शिवरात्रिमा र छठ पर्वमा पनि वाग्मती सुधार आयोजनाले धाप ड्यामको पानी वाग्मती नदीमा बगाएको थियो ।

वाग्मती सुधार आयोजनाका उपआयोजना निर्देशक एवं सूचना अधिकृत उद्धव नेपालले नदीमा पानीको बहाव बढाउन र बर्तालुलाई स्नानका लागि सहज बनाउन मेलम्चीसँग पानी सापटी लिइएको जानकारी दिए । ‘शिवरात्रि, छठजस्ता विषेश दिनमा हामीले ड्यामको पानी वाग्मतीमा छोड्दै आइरहेका थियौँ’, उनले भने, ‘यसपटक शिवरात्रिमा ड्यामको पानी परीक्षण गर्न बाँकी भएकाले आगामी वर्षामा मेलम्ची खानेपानी आयोजनालाई ड्यामको पानी दिने गरी सापटी गरेका हौँ ।’

धाम ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षातको समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेण्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य छ ।

adb bank long