अहिले दल भित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राजनीतिक दल भित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताएका छन्।

नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले यसले पार्टीमा अवसरवाद जन्मिएको बताएका हुन् । ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ’, उनले भने।

अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनु पर्ने उनले बताएका छन् । ‘अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउनु पर्दछ’, उनले भने ।

कुनै पनि संगठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उनले बताएका छन् । कुनै पनि उद्देश्यको लागि सांगठनिक शक्ति आवश्यक पर्ने पोखरेलले बताएका हुन् । ‘विचारले मात्रै हुँदैन, विचारलाई संगठनमा बदल्नु पर्छ, संगठनलाई उद्देश्यमा बदल्नु पर्छ’, उनले भने ।

नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएको पोखरेलले बताए । ‘काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टने, अन्त कतै यस्तो हुन्छ ?, के कारणले हाम्रो देश बनेन भन्ने कुरा यसैले पुष्टि गर्छ’, उनले भने ।

कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने उनको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेको उनले बताएका छन् । त्यसैले नेपालले स्वास्थ्य र शिक्षामा जोड दिनु पर्ने पोखरेलले बताए ।

प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनु पर्ने पोखरेलले बताए । नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्ने पोखरेलको भनाइ छ । सरकार फेरबदल भइरहने कुराले जुन रूपमा नेपाल अघि बढ्नु पर्ने हो त्यो हिसाबले अघि बढ्न नसकेको पोखरेलले बताएका छन् ।

पुँजी निर्माण बिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताएका छन्। नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको धारणा छ ।

त्यस्तै राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर भएको उनले बताएका छन् । ‘कर तिर्ने भन्दा कर नतिर्नेको जमात बढी छ, नेपालमा कर तिर्ने संस्कृति नै छैन’, उनले भने ।

विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको पोखरेलले बताएका छन् । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको पोखरेलको धारणा छ ।

देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकोले अहिले देशका ठुला दुई राजनीतिक दल मिलेर सरकार बनाएको उनले बताए ।

नेपालमा साना पार्टीले ठुला पार्टीलाई घुर्क्याएर शासन गर्ने गलत संस्कार सुरु भएको उनले बताएका छन्। म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठुला दल माथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेका उनले स्पष्ट पारेका छन् । हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निशालाई चिर्नको लागि हामी मिलेका हौँ’, उनले भने ।

सरकारले ल्याएको अहिलेको अध्यादेश औचित्यको आधारमा ल्याएको अध्यादेश भएको उनले स्पष्ट पारेका छन् । सरकार अध्यादेश ल्याउन मात्र होइन नयाँ कानुन बनाउन पनि केन्द्रित रहेको पोखरेलले बताए ।

प्रोटोन एजुकेसन
adb bank long