काठमाडौ । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र म्यानमार आमनेसामने हुदैछन्।
फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेल जित्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ। नेपालले समग्रमा १३औँ पटक फाइनल खेल्दै छ। आजको खेललाई नेपालका लागि उपाधि जितेर ईतिहास रच्ने अवसरकारूपमा पनि हेरिएको छ ।
१२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ।
नेपाली महिला टिम ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग तथा दक्षिण एसियाली खेलकुद (साग)मा तीनपटक भारतसँग फाइनलमा पराजित भएको छ।
गत ५ फागुनदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान प्रतिस्पर्धामा थिए। जसमा नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।
लिग चरणमा भएका तीन-तीन खेलमा दुई-दुई खेल जित्दै र एक बराबरी खेल्दै समान ७ अंक जोडेर दुुवै टोली फाइनलमा पुगेका हुन्। गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनलमा स्थान बनाए।
नेपाल र म्यानमारबीच चारपटक प्रतिस्पर्धा भएको छ। जसमा म्यानमारले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ।
सन् २०१८ मा भएको ‘ओलम्पिक एसिया छनोट’ पहिलो चरणमा नेपाल र म्यानमारले १-१ को बराबरी खेलेका थिए भने सन् २०१९ मा भारतमा सम्पन्न ‘हिरो कप लिग चरण’मा नेपाल म्यानमारसँग ३-० तथा फाइनलमा ३-१ ले पराजित हुन पुगेको थियो।