सरकारी सवारीसाधनको दुरुपयोग नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाको आदेश

संखुवासभा । सरकारी सवारीसाधनको दुरुपयोग नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले कडाइ गर्ने भएको छ। सार्वजनिक विदाका दिन तथा कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडी प्रयोग भइरहेको गुनासो बढेपछि प्रशासनले सबै सरकारी निकायलाई सवारीसाधनको नियमन गर्न निर्देशन जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले २०८१ फागुन ११ गते सबै संघीय, प्रदेश, नगरपालिका र गाउँपालिकाका कार्यालयहरूलाई पठाएको पत्रमा सरकारी सवारीसाधन कार्यालयीय प्रयोजनबाहेक अन्य कुनै पनि कार्यमा प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ। यदि विशेष कारणवश विदाको दिन सवारीसाधन प्रयोग गर्नुपर्ने अवस्था आएमा अनिवार्य रूपमा प्रशासनबाट पास लिनुपर्ने नियम लागू गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेद्वारा हस्ताक्षरित पत्रमा सरकारी प्रयोजनको लागि मात्र गाडी प्रयोग गर्न आग्रह गर्दै पासको लागि निवेदन दिँदा त्यसको स्पष्ट कारण खुलाउनु पर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। साथै, जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सार्वजनिक विदाका दिनमा चलाइने सरकारी सवारीसाधनको अनुगमन गर्न र पास रहेको/नरहेको चेकजाँच गर्न समेत निर्देशन दिइएको छ।

यो निर्णयले सरकारी स्रोतसाधनको प्रभावकारी व्यवस्थापनमा मद्दत गर्ने र अनावश्यक खर्च तथा दुरुपयोग रोक्ने बताइएको छ।

प्रोटोन एजुकेसन
adb bank long