दुई दलीय संयन्त्रको बैठक सम्पन्न, यस्ता थिए छलफलका बिषय

Telecom

काठमाडौं । वाग्मती प्रदेश स्तरीय नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

मंगलबार संयन्त्र संयोजक नेकपा एमाले वाग्मती प्रदेशका इञ्चार्ज राजन भट्टराईको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले विगतका निर्णय कार्यान्वयनको अवस्थाका समीक्षा गरी थप निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरूमा हुनुपर्ने राजनीतिक नियुक्ति समयमा नै नहुँदा प्रदेश सरकारका काम, कारबाहीमा परेको अप्ठेरो समेतलाई दृष्टिगत गरी बाँकी रहेका राजनीतिक नियुक्तिलाई दुई दलको आपसी सहमतिमा यथाशीघ्र टुङ्ग्याउन वाग्मती प्रदेश सरकारलाई निर्देशन दिएको छ ।  प्रदेश सरकारले तय गरेका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न र न्यून पुँजीगत खर्चलाई बढाउन छिटो, छरितो एवं प्रभावकारी तरले योजना कार्यान्वयन गर्न पनि बैठकले निर्देशन दिएको छ ।

गत असोज ११ देखि १३ गतेसम्म आएको वर्षा र बाढीबाट क्षति भएका संरचना पुनर्निर्माण र विस्थापितहरूको पुनर्स्थापना गर्ने कार्यलाई तीव्रता दिन तथा विपद् जोखिम व्यवस्थापनका लागि पूर्वतयारी कार्य अघि बढाउन बैठकले निर्देशन दिएको छ ।

वाग्मती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरुको यथार्थ अवस्था पहिचान गर्न तथा सहकारीमा भएको कारोबारका कारण कोही पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्ने कर्यलाई अझ सुदृढ र व्यवस्थित रूपमा अगाडी बढाउन प्रदेश सरकारलाई बैठकले निर्देशन दिएको छ ।  प्रदेश सरकारले अगाडी बढाएका योजना तथा कार्यक्रमहरू अन्तर्गत भौतिक निर्माणका काममा कानुनी जटिलता फुकाउने काम अघि बढाउन संघीय संयन्त्रलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति  इन्द्रबहादुर वानिया, वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा र नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन सहभागी थिए । नेकपा एमालेको तर्फबाट वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल तथा आमन्त्रित सदस्यको रूपमा वाग्मती प्रदेशका मन्त्री प्रकाश श्रेष्ठको सहभागिता रहेको थियो ।

adb bank long