काठमाडौ । नेपाल प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
गत माघमा देशभरबाट रु. ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रुपैयाँ राजस्व संकलन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी गराएका छन् ।
सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व संकलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै रु. २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व संकलन गरिएको छ । यो कुल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो ।
त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट रु. १६ करोड २७ लाख राजस्व संकलन गरिएको छ । त्यसै गरी ट्राफिक कारबाहीबाट रु. नौ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट रु. एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए ।
उनका अनुसार स्रोत नखुलेको रकम रु. ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा रु. २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट रु. आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट रु. १५ लाख ७१ हजार राजस्व संकलन भएको छ ।