बाग्लुङ । बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड-१० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेल रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उकालो सडकमा ब्याक भएर जिप दुर्घटना भएको हो। दुर्घटनामा बडिगाड–९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते छन्। घाइते एकजनाको परिचय खुल्न बाँकी छ।
घाइतेमध्ये तेजकुमारी बुढाको अवस्था गम्भीर छ। सामान्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।