बाग्लुङ । बाग्लुङ जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो। हिमपातका कारण यसक्षेत्रमा चिसो बढेपनि बालीनाली फस्टाउने आशामा किसानहरू हर्षित भएका छन्।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन शिकार आरक्षणका रेन्जर विनोद विकले बताएका छन् । हिमपातका कारण जनजीवन कष्टकर भएको छ। गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए।
हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ का प्रेमबहादुर घर्ती मगरले बताए। गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन। वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्ती बताउँछन्। उनले भने, “लामो समय खडेरी प-यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेका थिए, ढिलै भए पनि पानी प-यो।”