चितवन । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल सत्यको पक्षमा लड्ने संगठन भएको भन्दै नेपाली पत्रकारिताले अराजकतालाई साथ दिने होइन, समृद्धिलाई साथ दिने बताएका छन् ।
प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै बस्नेतले सत्य जतिसुकै तितो भए पनि प्रेस चौतारी नेपालले सत्य बोल्न नछाड्ने बताएका छन् । ‘सत्य तितो हुन्छ तर सत्य छाड्नु हुन्न’, उनले भने ।
प्रेस चौतारी नेपालको सदस्यहरू अब सोसल मिडियाको लडाइँमा उत्रिनु पर्नेमा उनले जोड दिएका छन् । पार्टीको नीति र नेतृत्व विरुद्ध भइरहेको आक्रमणको सामाजिक सञ्जालबाट प्रतिवाद गर्नुपर्ने उनले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र एमाले विरुद्ध सामाजिक सञ्जालमा भइरहेको आक्रमण समृद्धिको अभियान र स्वाभिमान विरुद्धको आक्रमण भएको उनले बताए । यसका विरुद्ध प्रेस चौतारी सम्बद्ध पत्रकारलाई अरिङ्गाल खनिए जस्तै खनिन उनले निर्देशन दिए । ‘यसका लागि योजना बनाएर अघि बढ्नुस्’, उनले भने ।
संगठनमा खेलेको भूमिकाका आधारमा चौतारी आबद्ध पत्रकारलाई नेपाल पत्रकार महासंघमा पठाएको उनले बताएका छन् । प्रेस चौतारीले काम गर्ने पत्रकारलाई खोजेरै सम्मान गर्ने र गरेको बस्नेतले स्पष्ट पारेका छन् । त्यसैले चौतारीका सदस्यलाई नबहकिन उनले आग्रह गरेका छन् ।
अहिले समाजमा अराजकता फैलँदै गएको बताउँदै उनले त्यसको विरुद्ध पत्रकार एक ठाउँमा उभिनु पर्ने बताएका छन् । गलत काममा सचेत गराउनु पर्ने तर सरकारले गरेका राम्रा काममा सरकारलाई सहयोग गरेर जानु पर्ने बस्नेतले स्पष्ट पारेका छन् । ‘नेपाली पत्रकारिताले अराजकतालाई साथ दिने होइन, समृद्धिलाई साथ दिने हो’, उनले भने।
प्रेस चौतारी नेपाल स्वाभिमानको पक्षमा लड्ने संगठन भएको बताउँदै उनले कुनै पत्रकारको स्वाभिमानमा आँच आउने काम गरिए संगठन सतिसाल जस्तै भएर उभिने बस्नेतले चेतावनी दिएका छन् ।