एजेन्सी । लामो समयदेखि चलिरहेको इजरायल र प्यालेस्टिनी समूह हमासबीचको युद्धमा युद्धबिराम सम्झौता भएपनि हमासले बन्धक बनाएकाहरूलाई मुक्त भने गरिसकेको छैन ।
शनिबार हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत ६ जना इजरायली बन्धकलाई रिहा गरेको हो । हमासले एवेरा मेन्गिस्टु, हिसाम अल–सयद, ओमेर सेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल सोअमलाई दक्षिणी गाजास्थित रफाह सहरमा रेडक्रसका प्रतिनिधिको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।
३८ वर्षीय मेन्गिस्टु र ३७ वर्षीय अल–सयद क्रमशः २०१४ र २०१५ मा गाजा प्रवेश गरेपछि पक्राउ परेका थिए । इजरायलले उनीहरू दुवैमा मानसिक स्वास्थ्य समस्या भएको बताएको थियो । २२ वर्षीय टोभ, २७ वर्षीया कोहेन र २३ वर्षीय वेन्कर्टलाई २०२३ अक्टोबर ७ मा बन्धक बनाइएको हो । ४० वर्षीय सोअमलाई भने किबुट्ज बेइरीबाट अपहरण गरिएको थियो ।
हमासले ६ जना बन्धक मुक्त गरेसँगै इजरायलले पनि ६ सय २ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बीबीसीले जनाएको छ । तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका छन् ।
अन्यलाई गत अक्टोबर ७ देखि कुनै आरोपबिना नै हिरासतमा राखिएको हो । हमास र इजरायलबीच करिब एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धक रिहा गरिएको हो । यो युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत अन्तिम रिहाइ हो ।
यसअघि हमासले गत बिहीबार ४ इजरायली बन्धकको शव हस्तान्तरण गरेको थियो । तर सिरी विबासको भनेर पठाइएको शव उनको नभएको परिवारले जनाएको थियो । लगत्तै हमासले शुक्रबार विबासको शव हस्तान्तरण गरेको थियो ।
यस अवधिमा हमासले ३३ बन्धक रिहा तथा शव हस्तान्तरण गरेको छ । त्यसको बदलामा इजरायलले करिब १९ सय प्यालेस्टिनी बन्दी रिहा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा अझै ६१ बन्धक छन् । तीमध्ये एक जना नेपाली युवा विपिन जोशी छन् । कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए ।
मध्यस्थकर्ताहरूले बाँकी बन्धकहरूको रिहाइका लागि दोस्रो चरणको वार्ता सुरु गर्ने योजना बनाएका छन् । इजरालयी प्रधानमन्त्रीको कार्यालयका अनुसार बाँकीमध्ये आधाभन्दा कम मात्र जीवित छन् ।