काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं साहित्यकार प्रदीप ज्ञवालीले सम्बन्धलाई एक अर्काका समर्पणको रूपमा लिनु पर्ने बताएका छन् ।
शनिबार पाणिनि बुक्सद्वारा प्रकाशित प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण कार्यक्रममा पुस्तक माथि टिप्पणी गर्दै ज्ञवालीले शाक्य त्यही समर्पणको प्रतीक भएको बताएका छन् । ‘जब उपलब्धिलाई तेरो र मेरोमा होइन हाम्रो हो भनेर आत्मसाथ गरिन्छ त्यहाँनेर अनमोल आनन्द हुन्छ’, उनले भने ।
महिलाका जीवनका आरोह अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिएको ज्ञवालीले बताएका थिए । पीडालाई कसरी सहन गर्न सकिन्छ भन्ने जीवन्त तस्बिर राधिका भएको ज्ञवालीको भनाइ छ ।
राधिकाले आफ्नो सम्पूर्ण जीवन केपी ओलीको सफलतामा समर्पित गरेको उनले बताएका छन् । केपी ओली विरुद्ध बाहिर एउटा बिम्ब बनाउन खोजिएको भए पनि उनी कस्तो हो र कसरी काम गर्छन् भन्ने कुराको सबैभन्दा नजिकको साक्षी राधिका भएको उनले स्पष्ट पारेका छन् ।
पछिल्लो समय देशमा नराम्रो अपसंस्कृति मौलाएको बताउँदै ज्ञवालीले एउटा जीवित मान्छेलाई श्रद्धाञ्जली दिने बिरामी पर्दा समेत अपशब्द प्रयोग गर्ने जस्तो विकृत मानसिकता देखिएको बताएका छन् । यस्तो अवस्थामा पनि केपी र राधिका पानी जस्तै बगेको उनले सुनाए । ‘यति धेरै पीडा हुँदा पनि उहाँको मनमा द्वेष देखिँदैन’, ज्ञवालीले भने ।