काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एबं प्रथम महिला राधिका शाक्यले बालकोटको घरलाई दरबार भन्नेहरू देखेर दुख लागेको बताएकी छन् । उनले सो घर आफ्नो ३३ बर्षको जागिरे जीवनबाट बनाएको बताएकी छन् ।
आज आफ्नो पुस्तक ‘करूणा’ लोकार्पणको क्रममा बोल्दै शाक्यले प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखेकी छन् ।
आफूूले नेपाल राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरुसँग दुःखेसो पोखेकी हुन् । “हाम्रो जीवनशैली समान्य नै हो । दुःखी, गरिब र असहायहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनताबाट बनाइएको हो ।’’, प्रथम महिला शाक्यले भनिन्, “सम्पूर्ण नेपालीले सहजरुपमा लाउन र खान पाउनुुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’’
‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’
कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाका जीवनका आरोह अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताएका छन् । नेकपा एमालेका उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकूूलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राखेका छन् । गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुुभव व्यक्त गरेकी छन् ।
लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा राधिका शाक्यको योगदानलाई बुुझ्न सकिने बताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७ औँ विवाह उत्सवका अवसरमा आयोजकबाट उनीहरुलाई सम्मान गरिएको थियो ।