काठमाडौँ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ।
समितिमा अनिर्णीत विषयलाई विशेष छलफलमार्फत टुङ्गो लगाउनका लागि नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाका अनुसार समितिका सदस्यहरूमा सांसदहरू अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।
उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको सभापति खतिवडाले जानकारी दिएका छन् । संविधानपछिको सबैभन्दा ठूलो विधेयक समयमै पारित नहुँदा सङ्घीयता कार्यान्वयनमै समस्या उत्पन्न हुन सक्ने भएकाले यो विधेयक चाँडो पारित गर्न लागिपरेको सभापति खतिवडाको भनाइ छ ।