काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मरिसकेको राजतन्त्र फर्कन नसक्ने बताएका छन् । त्यसैगरी उनले सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताएका छन् ।
आज (बिहीबार) प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै भट्टराईले नेपालमा डिजिटल प्लेटफर्महरू कानुन अनुसार दर्ता गरेर सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले अन्य देशमा पनि यस्तो व्यवस्था भएको बताएका छन् । ‘ नेपालमा मात्रै छाडा हुनु हुँदैन, देश सानो, ठुलो हुनसक्छ तर आचरण सबैले पालना गर्नुपर्छ’, उनले भने ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले कर्णालीको विकास सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार, कर्णालीका जलविद्युत् आयोजना, पर्यटन र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको उनले जानकारी दिएका छन् ।
अहिले राजा फर्काउने भन्दै केही पश्चगमनकारीहरु लागिरहेका बताउँदै भट्टराईले नेपालमा राजतन्त्र समाप्त हुनुमा स्वयं पूर्वराजा ज्ञानेन्द्रकै हात रहेको स्पष्ट पारेका छन् । ‘राजतन्त्रको अन्त्य हामीले गरेको होइन, स्वयं पूर्वराजाले नै त्यसको आधार तयार गरेका हुन्, अब मरिसकेको राजतन्त्र फर्कन सक्दैन’, उनले भने ।