काठमाडौ । नेकपा एमालेको बैचारिक राजनीतिक सिद्धान्त जबज (जनताको बहुदलिय जनबाद)का प्रणेता मदन भण्डारीका रुम पार्टनर जगन्नाथ आचार्य सम्मानित भएका छन् । तत्कालिन जहानिया राणाशासनको बिरूद्ध सशक्तरूपमा आफ्ना साहित्यिक कृति मार्फत जनतालाई चेतनशिल बनाउन अथक भूमिका खेलेका प्रगतिवादी बामपन्थी कवि युद्धप्रसाद मिश्रको ३४ औँ स्मृति दिवसको अवसरमा आचार्यलाई सम्मान गरिएको हो ।
आज काठमाडौमा युद्धप्रसाद स्मृति प्रतिष्ठानले आयोजना गरेको “युद्धप्रसाद स्मृति पुरस्कार एबं सम्मान” बाट वनारसमा मिश्रसंग संगै रहेर राणाशासन बिरूद्ध खरोरूपमा आगो ओकल्ने कवि एबं साहित्यकार जगन्नाथ शर्मा आचार्य सम्मानित भएका हुन् ।
सिन्धुपाल्चोक जिल्लाको तत्कालिन बाडेगाँउ गाविस हाल इन्द्रावती गाउँपालिकामा बि. सं. २००० सालमा जन्मेका आचार्य २०२२ सालमा पढ्नका लागि भारतको वनारस गएका थिए । वनारसमा रहँदा उनी नेपाली काङ्ग्रेसका नेता एबं साहित्यकार प्रदीप गिरी, तत्कालिन माक्सवादीका अध्यक्ष पुष्पलाल श्रेष्ठ , गोबिन्द ज्ञवाली , जननेता मदन भण्डारी, कवि एबं साहित्यकार युद्धप्रसाद मिश्र लगायतको सामिप्यतामा रहेका थिए ।
आचार्यले २०२७/०२८ सालतिर मदन भण्डारीको रूम पार्टनर बनेर बसेको पनि सम्झिरहने गर्दछन् । वनारसबाट प्रकाशित हुने “छात्रप्रभा”का तत्कालिन सम्पादक भण्डारी र पुष्पलालको नजिक हुनु नै आचार्यको कम्युनिष्ठ विचारको बिजारोपण बन्यो । सुरूमा बनारस छिर्दा प्रदीप गिरीको सामिप्यता पाएपनि पछि भण्डारी र पुष्पलालले नै उनलाई पञ्चायत बिरोधी आन्दोलनमा लाग्ने बनाएको उनी बताउछन् ।
सानैदेखि बिद्रोही र समाजमा समानता देख्न चाहने आचार्य २०४६ सालको जन आन्दोलन पछि मात्र अहिलेको एमालेमा खुलेर लागेका हुन् । बामपन्थी बिचार राखेपनि खुलेर पार्टीमा नलागेका आचार्य समाज परिवर्तन र पञ्चायत बिरूद्ध भने खुलेर लागेको सिन्धुपाल्चोकमा नेताहरू सम्झिन्छन् ।
हाल नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद्का सदस्य समेत रहेका आचार्यले आज उक्त सम्मानबाट सम्मानित हुँदा भण्डारीलाई मुनि (सबै कुराको ज्ञाता) को संज्ञा दिएका छन् । उनले पछिल्लो समय राजनीतिमा छलछाम र स्वार्थले घेरिएको भन्दै दुख ब्यक्त गरेका छन् ।
नेकपा एमालेका महासचिव प्रदीप ज्ञवाली ‘शितबिन्दु’ प्रमुख अतिथि रहेको सो कार्यक्रममा उनले भण्डारी पूर्वको मुनि र ज्ञवालीलाई पश्चिमको मुनि भन्दै अब पार्टीमा बैचारिकरूपमा ज्ञवाली जस्ता नेताको खाचो भएको बताए ।
८१ बर्षीय आचार्यले आजको सम्मानले आफुलाई अझ धेरै प्रेरणा मिलेको बताउँदै आउदा दिनमा आफुले सकेजति यो देशको परिवर्तनमा साहित्यबाटै भूमिका खेल्ने बताएका छन् ।