काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सुमना श्रेष्ठ र सोविता गौतमले संसद बैठकमा आफूहरूलाई बोल्न नदिएको प्रचारबाजी गरेको भन्दै सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । यस विषयमा सभामुखले ‘कन्सर्न’ लिएको उनको सचिवलायले जनाएको छ ।
सांसद गौतमले माघ २७ मा पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्नका लागि माघ २८ मा समय मागेकी थिइन् । तर, सभामुख घिमिरेले विधेयक पारित भइसकेकाले आकस्मिक विषय हुन नसक्ने बताएको सभामुखको सचिवालयले जनाएको छ ।
विधेयक पारित गर्नुअघि नै सभामुखले कानुनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमतिअनुसार नै विधेयक अगाडि बढाएको भने पनि प्रक्रिया बिग्रिएको भन्दै बोल्न समय मागेकी थिइन् । तर, गौतमले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्ने सभामुखले बताएका थिए ।
त्यसैगरी, फागुन ५ को बैठकमा पनि सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय मागेकी थिइन् ।
सभामुख घिमिरे आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आएको सभामुखको सचिवालयले जनाएको छ ।
‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला,’ भनेर सभामुख निस्किएको सचिवालयले जनाइएको छ । यो कुराकानी हुँदा रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै भएको सचिवालयले जनाएको छ । साथै यसमा दलीय अनुरोध पनि नआएको बताइएको छ ।
आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले सदन सञ्चालन गरिरहेको बेला सभामुखलाई विषय बुझाएर उठाउन सकिने र त्यो अभ्यास पनि भएको सचिवालयले स्वीकारेको छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट दबाब सिर्जना गर्न खोजिएको उल्लेख गरिएको छ ।
आकस्मिक समयमा बोल्नका लागि बैठक सुरु हुनुभन्दा अगाडि नै कम्तीमा २० देखि ३० जनाले समय माग्ने गरेकोमा बढी १० जनाले मात्रै समय पाउने गरेको पनि सचिवालयले जनाएको छ ।