काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको लागि लड्ने समकालीन राजनीतिज्ञ केपी शर्मा ओली रहनुभएको बताएका छन् ।
नेकपा एमाले दाङले घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पोखरेलले देश विकासको नयाँ यात्राको नेतृत्व गर्ने नेता केपी ओली र नेकपा एमाले रहेको उनले दाबी गरेका छन् ।
केपी ओली प्रधानमन्त्री भए पछि लोडसेडिङ अन्त्यको योजना बनाएको कारण अहिले नेपाल विद्युत् निर्यात गर्ने देश बनेको पोखरेलले बताए । ‘एउटाले योजना बनाउने अर्काले पगरी गुथ्ने, काम एउटाले गर्ने, जस अर्काले लिने नेपाली राजनीतिको विडम्बना भएको छ, काम एउटाले गर्ने पगरी गुथ्न अनेक खालका ढेडुहरू खडा गरिएको छ’, पोखरेलले भने ।
नेकपा एमाले र केपी ओलीले राम्रो काम गरेकै कारण घेराबन्दी गरिएको पोखरेलले बताए । अदालतको फैसलाबाट केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएको परिणाम देश सङ्कटग्रस्त बनेको पोखरेलले सुनाए । २ सय ७५ सिट भएको संसदमा ३२ सिटेले पाँचै वर्ष शासन गर्ने अलोकतान्त्रिक चरित्र देखाएपछि त्यसलाई नेपालको राजनीतिबाट सधैँका लागि अन्त्य गर्नुपर्ने मान्यताका आधारमा एमाले र कांग्रेस मिलेर सरकार बनाएको उनले स्पष्ट पारेका छन् ।
केपी ओली नेतृत्वको सकार बनेपछि देशमा लगानीको वातावरण बनेको, आर्थिक वृद्धिदर बढेको, अर्थतन्त्र चलायमान भएको, विदेशी मुद्राको सञ्चिति बढेको पोखरेलले बताएका हुन् ।
सकारले विकासका निर्माणको कामलाई अघि बढाउन र जनप्रशासनलाई प्रभाकारी बनाउन ६ वटा अध्यादेश ल्याएको बताउँदै उनले ती अध्यादेश संघीय संसद्का दुवै सदनबाट पास हुने उहाँले दाबी गरेका छन् । अध्यादेश संसद् छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नका लागि ल्याइएको उनले बताए । ‘अध्यादेश संसद् छल्न होइन, संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो’, उनले भने ।
उनले भूमि सम्बन्धी अध्यादेश भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्न ल्याइएको बताएका छन् । आफूहरूलाई भूमिहीन, सुकुम्वासी, हलियाको पक्षमा भएको बताउने राजनीतिक दलहरू उनीहरूको समस्या समाधान गर्न कानुन ल्याउँदा विरोधमा उत्रिनु विडम्बनापूर्ण स्थिति रहेको पोखरेलले टिप्पणी गरेका छन् ।
समृद्ध नेपाल सुखी नेपालीको स्वप्नदृष्टा केपी शर्मा ओली नै भएको उनले बताए । केपी शर्मा ओलीले लिनु भएको देश विकास, समृद्धि, स्वाधीनता र स्वाभिमानको सम्मान गर्नुपर्ने उनले बताएका छन् । ‘हामी दँगालीहरू काम गर्नेलाई सम्मान गर्न चाहन्छौँ, काम गर्नेहरूलाई सम्मान गर्न चाहन्छौँ’, उनले भने ।