काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा साना पार्टीले ठुला पार्टी माथि शासन गर्न लागेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् ।
नेकपा एमाले विराटनगर महानगर कमिटीको जरा केन्द्रित अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार मोरङको विराटनगरमा सम्बोधन गर्दै ३२ सिटे पार्टीले पाँचै वर्ष शासन गर्ने कुरा गर्न लागेपछि दुई ठुला दल मिल्न बाध्य भएको उनले बताए । राजनीतिक अस्थिरता मच्चाएर त्यही अस्थिरतामा खेल्ने काम भएपछि अस्थिरतालाई रोक्न बलिया पार्टी मिल्नु परेको उनले सुनाएका छन् ।
नेपालमा राजनीतिक अस्थिरताको हाबी भएपछि संविधान परिवर्तन गरेर भए पनि स्थायित्व प्रदान गरी नागरिकको निराशा चिर्नुपर्छ र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु पर्छ भनेर दुई दल एक ठाउँमा उभिनु परेको उनले बताएका छन्। ‘आज जनतामा जुन प्रकारको निराशा छ, कुण्ठा छ, युवा पलायन छ, यो कुरालाई रोक्न नसक्ने हो भने हामीले ल्याएको परिवर्तनलाई जोगाउन सकिन्छ र ?’, उनले प्रश्न गरे ।
वर्तमान सरकार नबन्दासम्म सडकमा एक खालका रमिता सुरु भएको उनले स्मरण गराएका छन् । राजा आऊ देश बचाउ भन्ने नारा समेत विगतमा सडकबाट लागेको उनले स्मरण गराए । ‘मुलुकलाई निशाबाट जोगाउन नसके प्रतिगमन तर्फ जान लागेको राजनीतिलाई फर्काउन सकिँदैन भन्ने अठोटका साथ हामी मिलेका हौँ’, उनले भने ।
कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि व्यवसायीहरूमा उत्साह बढेको उनले बताएका छन् । उद्योगी व्यवसायीहरूले यो सरकार बनेपछि सोचे भन्दा पनि राम्रो काम भएको भनेर खुल्ला रूपमा नै भन्न लागेको उनले सुनाएका छन् ।
एमाले र कांग्रेसको अहिले संयुक्त सरकार भए पनि आउने निर्वाचनमा दुई दल अलग अलग चुनाव लड्ने उनले बताए । त्यसैले एमाले संगठन निर्माणको अभियानमा लागेको उनले प्रष्ट पारेका छन् । सोही अभियानलाई सफल पार्न गाउँ केन्द्रित अभियान सुरु गरिएको उनले बताए । यो अभियान नेता कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने अभियान पनि भएको पोखरेलले स्पष्ट पारेका छन् ।
समृद्ध नेपाल सुखी नेपालीको लक्ष प्राप्तिको लागि यो पार्टीले गर्न सक्दछ भन्ने विश्वास नागरिकलाई जगाउनु पर्ने उनले बताए ।
नागरिकको पार्टी प्रतिको आकर्षण कामबाट नै बढाउनु पर्नेमा पोखरेलले जोड दिए । जनताले भोगिरहेको समस्या समाधान गर्ने गरी योजना बनाएर काम गर्न पोखरेलले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘कुन वडामा के गर्ने भन्ने सोच र दृष्टिकोण बनाउनु पर्दछ, यसो गर्दा मात्र जनता पार्टीसँग जोडिन्छ’, उनले भने ।
जनतालाई राजनीतिमा जोड्ने हो भने जनतासँग बसेर उनीहरूका समस्या माथि केन्द्रित रहेर छलफल गर्नुपर्ने पोखरेलले बताए । अहिलेको जरा केन्द्रित अभियान यसैमा केन्द्रित रहेको उनले स्पष्ट पारेका छन् ।
नीति र नेतृत्वको एकताले मात्रै पार्टीले सफलता प्राप्त गर्न नसक्ने बताउँदै उनले यसको लागि समग्र पार्टी भित्र नै एकता आवश्यक रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिमा सबैभन्दा बढी योगदान गरेको, इतिहासलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्ने सक्ने, नेपाली समाजलाई सबैभन्दा गहिरो गरी बुझ्न सक्ने र इतिहासलाई वस्तुनिष्ठ ढङ्गले बुझ्न सक्ने नेता भएको बताउँदै पोखरेलले सिङ्गो पार्टी एक ढिक्का भएर उनलाई स्थापित गर्नुपर्ने बताएका छन् । यस्तो सामर्थ्य भएको नेता पार्टी अध्यक्ष भएको अवस्थामा नेकपा एमाले मिसन २०८४ लिएर अघि रहेको पोखरेलले स्पष्ट पारेका छन् । यस्तो बेला पार्टी भित्र माथिदेखि तलसम्म थप एकता आवश्यक रहेको स्पष्ट पारे ।