काठमाडौ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले सरकारले जारी गरेको अध्यादेशलाई संसदमा अघि बढाउने निर्णय गरेको छ।
संघीय संसदमा रहेका सबै दलहरूसँग छलफल गरेर यही फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
उनले अध्यादेशलाई पारित गर्नका लागि बहुमत पुग्ने दाबी गरे ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग फोनमा कुराकानी भएको र अध्यादेशमा समर्थन गर्ने सहमति भएको लेखकले बताए ।
तर उपेन्द्र यादवले भने अध्यादेश पास गर्न सहयोग गर्ने शर्तमा बार्गेनिङ गरिरहेको बुझिएको छ । यादवले आफुलाई संघीय सरकारको उपप्रधानसहित स्वास्थ्य मन्त्री वा मधेश प्रदेशको मुख्यमन्त्री दिएमा मात्र सहयोग गरेर अघि बढ्ने शर्त राखेका छन् ।
हुनत: सत्तारूढ दलले उपेन्द्रको बिकल्पमा नेकपा एकीकृत समाजवादीलाई मनाउने भन्दै नेपाली काङ्ग्रेसलाई जिम्मा दिएको छ ।
यसरी संसदमा चाहिने आबश्यक अंकगणित नपुर्याई यादवद्वयसंग टेलिफोन संवादमा भएको कुराकै आधारमा पास गर्छु भन्नु जोखिमपूर्ण देखिएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्षसहित माओवादी १८, कांग्रेस १६, एमाले ११, एकीकृत समाजवादीका ८, जसपा नेपाल ३, लोसपा १ र जनमोर्चाको १ सीट छ । त्यस्तै राष्ट्रपतिबाट मनोनित बामदेव गौतमले अध्यादेशको पक्षमा उभिने निर्णय गरेका छन् । जसपा र लोसपाले विपक्षमा उभिँदा सत्तापक्षमा २७ सीटमात्र हुन्छ । वामदेवको मत थपिँदा पनि बहुमतका लागि आवश्यक २ सीट पुग्दैन ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले–कांग्रेसका अन्य नेता, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी थिए ।