विराटनगर । काेशी प्रदेश सरकारले आज शनिबार आफ्नो साताैँ स्थापना दिवस मनाएकाे छ ।
विराटनगरमा रहेकाे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय परिसरमा आयाेजित कार्यक्रममा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको स्थापना हुनु नै संघीयता कार्यान्वयनकाे महत्त्वपूर्ण अंगको रूपमा रहेको बताए। प्रदेश सरकारले सात वर्षमा विगतका नीति तथा कार्यक्रमलाई समीक्षा र आगामी दिनमा सुधार गर्दै लैजाने सरकारकाे याेजनाकाे उनले प्रशंसा गरेका छन् ।
काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारकाे कामकाे स्वस्थ आलाेचना गर्दै भएको कामकाे प्रचार पनि गर्नुपर्ने बताएका छन् । भाैतिक पूर्वाधारमा काम गर्दै आएकाे सरकारले अब मानवीय सूचकांकमा अघि बढ्ने मुख्यमन्त्री कार्कीले बताए।२०७४ फागुन ३ गते कोशी प्रदेश सरकार स्थापना भएको हो। सात वर्षको अवधिमा नयाँ संरचना स्थापित गरी सञ्चालन गर्ने विषय निकै चुनौतीपूर्ण भएकाे उनको भनाइ छ।
‘कानुनी शून्यता र संरचनाविहीन अवस्थाबाट सरकारका कार्यसम्पादन गर्दै जनतामा सेवा प्रवाह गर्नु अत्यन्तै जटिल र कठिन थियाे, मुख्यमन्त्री कार्कीले भने, यस्तो कठिन परिस्थितिबाट अगाडि बढेर प्रदेश सरकार आजको मितिसम्म आइपुग्दा यसले आफ्नो आकार ग्रहण गरेर आम जनतामा देखिने, सुनिने र अनुभूति गर्न सक्ने अवस्थामा पुगेको छ ।’
आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहित पूर्वाधार विकासका क्षेत्रमा समेत प्रदेश सरकारले छिटो र छरितो ढंगबाट काम गरेको उनले दाबी गरे।
उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्दै संविधानको भावना र मर्मअनुरूप प्रदेशको दिगो विकास, समृद्धि र सुशासनका लागि प्रदेश सरकार दृढताका साथ अगाडि बढिरहेको जिकिर मुख्यमन्त्री कार्कीले गरे।
पहिचानको क्षेत्रमा काेशी सरकारले काम गरिरहेकाे जिकिर गर्दै मुख्यमन्त्री कार्कीले कोशी नामकरण बहुसंख्यक सांसदकाे संवैधानिक अधिकार भएकाले अरू विषयमा छलफल समन्वय र समझदारीका साथ अघि बढ्ने प्रतिबद्धता जनाए।
सो अबसरमा कोशीमा ४ सय किलोमिटरको पदमार्ग निर्माण थालिएको जानकारी पनि कार्कीले दिए।
काेशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले काेसीमा दुई वर्षमा ६ पटक मुख्यमन्त्री फेरबदल भएको स्मरण गरेका छन् । उनले अप्ठेराका बीच प्रदेश सरकार यहाँसम्म आइपुगेकाे बताए ।
केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिँदा काम गर्न नसकेकाे तथा प्रदेशले स्थानीय तहलाई कसरी अधिकार दिएका छाैँ, त्याे पनि महत्त्वपूर्ण भएको उनले बताए।
सभामुख विष्टले स्थायी आम्दानीको बाटाे खाेजेर प्रदेशको औचित्य पुष्टि गर्नुपर्नेमा जाेड दिएका छन् ।
काेशी प्रदेश सरकारका प्रमुख सचिव केदार शर्माले सरकारले जसरी काम गरेको छ, त्यसअनुसार प्रचार हुन नसकेको दाबी गरेका छन् ।