काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र लगायत प्रतिपक्षीले सरकारको विरुद्ध झुटको खेतीमा लागेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अङ्क तल झरेर कमजोर भएको रिपोर्ट सार्वजनिक गरेपछि नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरू वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गर्दै भ्रमको खेतीमा लागेका टिप्पणी गरेका छन् । सो रिपोर्ट सन् २०२४ को भएको उल्लेख गर्दै पोखरेलले सो वर्षको आधिभन्दा बढी समय माओवादी नेतृत्वको सरकार रहेको पोखरेलले स्पष्ट पारेका छन् ।
यसै वर्ष सुशासनका सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्ट मध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको उनले स्मरण गराएका छन् । विश्वबैंक लगायत तीनवटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिएको उनले स्पष्ट पारे । ‘त्यस अर्थमा नेपालका सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्नै ठाउँमा छ, तर बिग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ, होइन र ?’, पोखरेलले लेखेका छन् ।
पोखरेलले विगतको सरकारले काम गर्न नसकेकै कारण केपी ओली नेतृत्व कांग्रेस–एमालेको सरकार बनेको स्पष्ट पारेका छन् । ‘विगतको सरकारको काम ठिक नभएको र मुलुक सङ्कटग्रस्त बन्न पुगेको निष्कर्षका आधारमा नै वर्तमान सरकार गठन भएको हो, दुई दलका बिचमा भएको ७ बुँदे सहमतिमा नै उक्त कुरा उल्लेख छ’, पोखरेलले लेखेका छन् ।
वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड दिने काम भएको उनको दाबी छ । ‘लगानी प्रवर्धन र आर्थिक सुधारमा जोड दिइएको छ, यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ला, होइन र ?’, पोखरेलले लेखेका छन् ।