नागरिक बलियो हुने हो भने राज्यलाई बलियो बनाउनु पर्छ : महासचिव पोखरेल

Telecom

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक बलियो हुने हो भने राज्यलाई बलियो बनाउनु पर्ने बताएका छन् ।

आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।

त्यसैगरी , पोखरेलले वर्तमान संविधान नेपालको लोकतान्त्रिक आन्दोलनको उपलब्धि भएको बताएका छन् ।  संविधान नेपालको लोकतान्त्रिक आन्दोलनको अत्यन्त ठुलो सपनाको दस्ताबेज भएको बताएका छन् । ‘यो २००७ साल देखिको सपना पुरा भएको दस्ताबेजको अर्थमा जनताको संविधान हो’, उनले भने ।

पोखरेलले संविधान प्रति सबैको अपनत्व भएको बताएका छन् । संविधान संशोधन भन्नुको अर्थ त्यस प्रतिको अनादर नभएको बताउँदै उनले सम्मान सहित त्यसले निर्धारण गरेको विधि र प्रक्रियामा प्रवेश गर्ने कुरा भएको स्पष्ट पारेका छन् ।

नेकपा एमाले र कांग्रेसको सरकार बनाउँदाको सहमतिको एउटा बुँदामा संविधान संशोधनको विषय भएको उल्लेख गर्दै पोखरेलले देशमा स्थिरता सिर्जनाको लागि यसले महत्त्व राख्ने बताए ।

पोखरेलले काठमाडौं केन्द्रित एकात्मक शासन व्यवस्था तल जान सङ्कोच मान्दा संविधान कार्यान्वयनमा समस्या आएको बताएका छन् । कतिपय कानुन निर्माणका क्रममा आएको जटिलता पनि त्यही मनस्थितिको उपज भएको पोखरेलले बताए।

निर्वाचन प्रणालीलाई सुधार गर्दा देशलाई स्थायित्व दिन सकिन्छ कि भनेर संविधान संशोधनका क्रममा छलफलको विषय बनाउनु पर्ने उनको धारणा छ । समावेशितालाई बलियो बनाएर निर्वाचन प्रणालीमा सुधार गर्न सकिने पोखरेलले बताए ।

उनले नागरिक बलियो हुने हो भने राज्यलाई बलियो बनाउनु पर्ने बताए । राज्य बलियो बनाउन राजनीतिक दल बलिया हुनु पर्ने उनको धारणा छ । कसैलाई पनि कमजोर बनाएर राज्य बलियो नहुने पोखरेलले स्पष्ट पारेका छन्।

adb bank long