काठमाडौ । कानुन व्यवसायी परिषद् बागमती प्रदेशको पार्षदमा एमाले-माओवादी गठबन्धनका साझा उमेद्वार वरिष्ठ अधिवक्ता रवि नारायण खनाल विजयी भएका छन् ।
खनालले प्रतिस्पर्धी काङ्ग्रेस निकट वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालालाई ५ सय ७८ मत अन्तरले पराजित गरेका हुन्।
८ हजार २ सय मतदाता रहेको बागमती प्रदेशमा खनालले २ हजार ३५५ मत पाउँदा कोइरालाका पक्षमा १ हजार ७७७ मत परेको निर्वाचन समितिले जनाएको छ।
मतदानमा झण्डै ५० प्रतिशत मात्र उपस्थित भएका थिए ।
खनाल एमाले निकट भएपनि उनलाई प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहको साथ थियो। कोइरालालाई नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीको संगठनले साथ दिएको थियो।
परिषद् कानुन व्यवसायीको व्यावसायिक आचारसंहिताको अनुगमन र नियमन गर्ने संस्था हो। यसका अध्यक्ष महान्यायाधिवक्ता हुन्छन्।
सात प्रदेशबाट एक–एक जना पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि सर्वोच्च अदालत परिसर, हेटौँडा र चितवनमा मतदान भएको थियो ।
यसअघि बागमती प्रदेशको पार्षदमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए।
पाँच वर्षको पदावधि हुने पार्षदमा कोशी प्रदेशबाट राजु ढकाल, मधेसबाट सञ्जीवकुमार मल्लिक, गण्डकीबाट दयाराम गौतम, लुम्बिनीबाट ईश्वरीप्रसाद ज्ञवाली, कर्णालीबाट मातृकाप्रसाद खनाल र सुदूरपश्चिमबाट टेकबहादुर कठायत विजयी भएका छन्।
कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस निकट गठबन्धनका उम्मेदवार विजयी भएका छन्। यस निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीका संगठनबीच गठबन्धन भएको थियो।
एमाले-माओवादी गठबन्धनका उम्मेदवारले बाग्मती र कर्णालीमा मात्र जित हात पारेका छन्।