हालसम्मकै सर्वाधिक पुरस्कार राशिको ‘शाइन रेसुंगा नेशनल १० के रन’ प्रतियोगिता हुँदै

Telecom

बुटवल । रूपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले हालसम्मकै सर्वाधिक पुरस्कार  राशिको ‘शाइन रेसुंगा नेशनल १० के रन’ प्रतियोगिता गर्ने भएको छ ।

बैंकले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी फागुन ११ गते प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिताको नगद पुरस्कार पाँच लाख रुपैयाँ रहेको छ ।

‘रन टु साइन’ भन्ने नाराका साथ बुटबलमा हुने प्रतियोगितामा राष्ट्रियस्तरका धावक सहभागी हुने बैंकले जानकारी दिएको छ । प्रतियोगितामा महिला/पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ ।

जसमा खुलातर्फको महिला/पुरुष विजेताले एकएक लाख रुपैयाँ प्राप्त गर्नेछ । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको यो नगद पुरस्कार नेपालको हालसम्मकै सर्वाधिक रहेको आयोजक साइन रेसुंगा बैंकले दाबी गरेको छ ।

खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २ हजार ५०० रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुनः केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।

प्रतियोगिता अपरेसन र ब्यवस्थापनका लागि बैंककातर्फबाट सीईओ प्रकाश पौडेल र कखराका तर्फबाट हिमविक्रम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने उद्देश्यअनुरूप दौड प्रतियोगिता गर्न लागिएको बताए ।

adb bank long