काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पर्बत जिल्लाको कुश्मामा रहेका द क्लीफ र हार्नेस जीपलाइन एण्ड एड्भेन्चर रिसोर्टको अवलोकन गरेसंगै स्वर सम्राट नारायण गोपालको गीत सम्झिएका छन् ।
पार्टीको प्रशिक्षण कार्यक्रममा पर्बत जिल्लामा रहेका ज्ञवालीले सो अवलोकनसंगै भीर र बगरहरूसमेत बनाउन सकेमा आकर्षक गन्तव्यका रूपमा रूपान्तरण हुन सक्ने र आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्न सक्ने बताएका छन् ।
अवलोकन पश्चात् आफ्नो सामाजिक संजाल फेसबुकमा ज्ञवाली लेख्छन –भीर र बगरहरू दुरूह, बञ्जर र व्यर्थ मात्रै हुँदा रहेनछन् । पौरखीहरूले तिनै भीर र बगरमा संभावना र सौन्दर्य भेट्दा रहेछन् । साहसिक पर्यटनका लागि आकर्षक गन्तव्यमा रूपान्तरण गर्दा रहेछन् ।
त्यसै गरिरहेका छन् पर्बतको कुश्मामा रहेका The Cliff र Harness Zipline and Adventure Resort ले । बञ्जी, स्विङ्, रोप साइक्लिंग, स्काई क्याफे र १.६ किमी लामो जीपलाइन आदि मार्फत् पर्बतलाई आन्तरिक र बाह्य पर्यटनको केन्द्र बनाउन योगदान गरिरहेका छन् ।
प्रशिक्षण कार्यक्रमको छेको पारेर साथीहरूले स्काई क्याफे र जीपलाइनको रोमाञ्चक अनुभूति समेत गराउनु भयो ।
देशभित्र अथाह संभावना छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरिरहनु भएका नेत्र पराजुली, राजु कार्की र सुनिल बानिया लगायत साथीहरूलाई धन्यवाद र वधाइ !
नारायण गोपालको गीत कति सान्दर्भिक छ हगि ?-
‘फाँटहरूले कसलाई पुग्छ, भीरमा पनि फुलिदिन्छु,
हाँसो मात्र कहाँ हुन्छ, पीरमा पनि फुलिदिन्छु !’