बीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ११ घाइते

Telecom

काठमाडौ । धुलिखेल-बर्दिबास सडक (बीपी राजमार्ग) मा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य माइक्रोमा सवार ११ जना घाइते भएका छन् ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको माइक्रो बस बिहीवार बेलुका सिन्धुलीको सुनकोशी गाउँपालिका – ७ कानढुङ्ग्रीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।

दुर्घटनामा गम्भीर घाइते धनुषाको जनकपुर उपमहानगरपालिका- १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको उपचारको क्रममा गएराति धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट गएराति नै काठमाडौँको ट्रमा सेन्टरमा लगिएको  प्रहरीले बताएको छ। जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।

बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको डीएसपी खड्काले बताए।

त्यसैगरी चारजना घाइतेको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। सामान्य उपचारपछि दुईजना भने डिस्चार्ज भएका छन्।

गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

adb bank long