काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा ऐन पारित गर्ने यो उपयुक्त समय भएको बताएका छन् ।
हालै सरुवा भई आएका सचिव रविलाल पन्थलाई बुधबार मन्त्रालयमा स्वागत गर्दै उनले देशकै चासोका रूपमा रहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय, २०८०’ संसदबाट पारित गर्ने उपयुक्त अवसर भएको बताएका हुन् ।
आउँदो संसद अधिवेशनबाट यो विधेयक पारित गराउने कार्यमा आफू अत्यन्तै क्रियाशील रहेको जानकारी दिदै उनले भने, ‘निजामती सेवासम्बन्धीको यो विधेयक आउँदो अधिवेशनमा प्रवेश र पारित हुन्छ । देशको पहिलो र दोस्रो शक्ति मिलेर बनेको सरकारले पनि पारित गरेन भने यो विधेयक अलपत्र पर्छ ।’ यो विधेयक अहिले पारित नभए कहिले आउँछ र पारित हुन्छ कुनै ठेगान नहुने मन्त्री गुप्ताको भनाइ छ ।
निजामती सेवा ऐन बनाउनु संविधान बनाउनुजस्तै ठूलो काम भएको चर्चा गर्दै उनले ऐन जारी गर्नका लागि सबैको रचनात्मक सहयोग आवश्यक रहेको बताएका छन् ।
‘२०७० सालको संविधान सभाले समयमै संविधान जारी गर्न नसक्दा हामी सभासदहरूलाई संसदको लोगो लगाएर हिँड्न पनि मुश्किल थियो, संविधान नै थाहा नभएकाले पनि संविधान कहिले आउँछ सभासदज्यू भनेर पाइलैपिच्चे प्रश्न गरेको यादहरू ताजै छ । त्यस्तै भएको छ यो निजामती सेवा विधेयक पनि,’ मन्त्री गुप्ताले विगत सम्झिदै भने, ‘अनेक अवरोधका बीच हामीले २०७२ सालमा संविधा जारी गर्यौँ, तर त्यसको नौ वर्ष पुग्दासम्म निजामती सेवा ऐन निर्माण गर्न सकेका छैनौँ । यसबाट हामी सबै चिन्तित छौँ । अहिले पारित गरेरै छाड्छौँ ।’
निजामती सेवा ऐन निर्माणले कर्मचारी प्रशासन व्यवस्थित गर्नका साथै वर्तमान सरकार र देशै सफलताको बाटोतर्फ उन्मुख हुने उनको भनाइ छ । आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै यो ऐनलाई प्राथमिकतामा राख्दै आएको तथा एक सय र दुई सय दिनको आफ्नो कार्यप्रगति विवरण तथा प्रधानमन्त्रीसँग गरिएको कार्यसम्पादन सम्झौतामा समेत यो विषयलाई पहिलो प्राथमिकतामा राखेको मन्त्री गुप्ताले स्पष्ट पारेका छन्।
राज्य व्यवस्था समितिमा अन्य विधेयकहरूको चाङ हुँदा पनि निजामती कर्मचारी सेवासम्बन्धी विधेयकलाई छलफलमा लैजान पहल गरिएको स्मरण उनले गरे । फलस्वरुप विधेयक दफावार छलफलको चरणमा प्रवेश गरेको छ ।