आज थारू समुदायको नयाँ बर्ष ‘माघी’ मनाइँदै, देशभर सार्वजनिक बिदा

Telecom

काठमाडौ । आज थारू समुदायको नयां बर्षको रूपमा माघी पर्व मनाइँदै छ भने अन्य समुदायले पनि आजको दिनलाई विशेष दिनका रुिपमा लिँदै माघे संक्रान्ति मनाउने गरेका छन् ।

थारु समुदायको २६४८ औं वर्ष सुरु भएको छ । माघ १ अर्थात नयाँ वर्षको स्वागतका लागि यतिबेला दाङलगायतका थारु समुदाय अन्तिम तयारीमा जुटेका छन् । माघ १ गतेका दिन थारु समुदायहरु आ-आफ्नो पायक पर्ने ठाउँमा भेला भएर नाचगान, भेला, बैठक, तथा छलफल गरी मनाउँछन् ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुँनाले आजको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ ।

त्यसैगरि तराईवासीले आजको दिन (माघ १) लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

आज सरकारले माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

adb bank long