काठमाडौ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक स्वस्थानी व्रतको सुरू गर्दैछन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना यो व्रत हुने गर्दछ ।
एकतीस अध्यायको स्वास्थानी कथामा नेपालका सबैजसो शक्तिपिठ र ती शक्तिपिठको उत्पत्तिलाई महादेवकी पत्नी सतिदेवीको अंग पतनसंग जोडेर वर्णन र व्याख्या गरिएको छ ।
सनातन धर्माबलम्बी धेरैजसो महिलाले यो व्रत बस्ने रेको पाइन्छ । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधिको शोध पत्र तयार गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउँछिन् ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच भएको संवाद स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।
आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ।
यो एकमहिना बिषेशगरी काठमाडौको उत्तर पूर्वमा रहेको शालीनदीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । जहाँ स्वस्थानी कथामा उल्लेख गरेको लाबण्य देश र चन्द्रनगर लगायतका ठाउ रहेको जन बिश्वास रहिआएको छ ।