हेटौँडा । मकवानपुर जिल्ला लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भर्खरै सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरण अनुसार मकवानपुर लागू औषधको उत्पादन, खपत, ओसारपसार,बिक्री वितरण लगायतमा ट्रान्जिट प्वाइन्टका रूपमा रहेको उल्लेख गरेको छ।
मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पौष २८ गतेसम्म ३ हजार २ सय ९४ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ । यो अवधिमा प्रहरीले ५१ किलो ७ सय १० ग्राम चरेस बरामद गरेको जानकारी गराएको छ ।
त्यसैगरी प्रहरीले अफिम ३ किलो ६१ ग्राम, डाइजेपाम एम्पुल १ हजार ४ सय ७५, खैरो हिरोइन २सय ५७ ग्राम, नाइट्राभेट/ट्रामा ५५ ट्याब्लेट र कोरेक्स २० बोतल बरामद गरेको छ। चालू आर्थिक वर्षको हाल सम्म मकवानपुर प्रहरीले ८९ बिगाहा ११ कट्ठा क्षेत्रफलमा लगाएको गाँजा तथा २४ बिगाहा ३ कट्ठा अफिम खेती फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
६ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ४ सय ७४ मुद्दा दर्ता भएको र ती मध्ये ७० वटा मुद्दा लागू औषध सम्बन्धी रहेका छन् । प्रहरी विवरण अनुसार, २२ जना विदेशीको आपराधिक क्रियाकलापमा संलग्नता देखिएको छ ।
यो अवधिमा मकवानपुर प्रहरीले सुन,चाँदी, अवैध कपडा, खाद्यान्न गरी २ करोड ३६ लाख बराबरका अवैध (भन्सार छलिएका) सामग्री नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले ४५ हजार अवैध विदेशी मुद्रा समेत नियन्त्रणमा लिएको जनाएको छ।
जिल्लामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि ४० वटा सिसिटिभी थप आवश्यक रहेको प्रहरीले बताएको छ । अपराध अनुसन्धानमा प्रभावकारी मानिने सिसिटिभी मकवानपुरका १ सय ५९ वटा रहेकोमा ८० वटा मात्रै चालू अवस्थामा रहेका छन् ।
सार्वजनिक विवरण अनुसार मकवानपुरमा पछिल्लो ६ महिनामा सवारी दुर्घटना बढेको देखिएको छ । यो अवधिमा १ सय ५१ सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ४ सय ९ जना घाइते भएका छन् । ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ४ सय ४६ लाई कारबाही गर्दा १ करोड १४ लाख राजश्व सङ्कलन भएको विवरणमा जनाइएको छ ।
अवैध गिट्टी बालुवा उत्खनन तथा ओसारपसारमा प्रयोग गरिएका ८९ सवारी कारबाहीबाट ४ लाख ४१ हजार राजश्व सङ्कलन भएको छ । सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत ५ सय ३३ वटा जनचेतनामूलक कार्यक्रमबाट कुल २४ हजार ४ सय ४५ लाभान्वित भएका छन् ।