स्थिर सरकार नहुँदा विकासले गति लिन सकेन : मन्त्री तामाङ

Telecom

काठमाडौं । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य तथा भूमि प्रशासन मन्त्री शुकमाया तामाङले स्थिर सरकार नहुँदा नेपालको विकासले गति लिन नसकेको बताएकी छन् ।

नेकपा एमाले रामेछापले आइतबार बिहान उनको स्वागतमा मन्थली स्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तामाङले अस्थिर सरकार विकासको बाधक हुने बताएकी हुन् । ‘स्थिर सरकार नहुँदा विकासमा बाधा परेको हुनाले अहिले देशमा दुई ठुला पार्टीको समीकरणमा सरकार निर्माण भएको छ, यसलाई निरन्तर लगेर समाजमा रहेका निराशा चिर्नु पर्ने छ, समाजमा रहेका विकृति र निराशा चिर्न सकिएन भने जनतामा अझ बढी निराशा बढ्ने छ’, उनले भनिन् ।

तामाङले पार्टी भित्र पनि पार्टीको संस्थागत विकास भन्दा व्यक्तिको विकासमा केन्द्रित भएको भन्दै यसलाई आजैबाट अन्त्य गरी पार्टीको संस्थागत विकासमा लागिपर्नुपर्ने बताइन् । ‘जबसम्म संस्थागत विकास हुँदैन, तबसम्म पार्टी बलियो हुँदैन, पार्टी बलियो नभए सरकारमा पुगिँदैन’, उनले भनिन् ।

वाग्मती प्रदेश सरकार नागरिकलाई दिन सक्ने सबै खालका सेवा दिन प्रतिबद्ध भएर लागेको पनि उनले बताएकी छन् । योजनाहरू योजना बैङ्कको आधारमा अघि बढ्नु पर्ने बताउँदै उनले चिटको आधारमा आएका योजना प्रभावकारी नभएको स्पष्ट पारिन् ।

adb bank long