भीम रावललाई एमालेबाट निष्कासन गर्नुपर्ने कारण केलाउँदा…

Telecom

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले भीम रावललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने गरी गरेको निर्णय अहिले सार्वजनिक चासोको विषय बनेको छ ।

नेकपा एमालेले रावललाई कारबाही गर्नु ठिक थियो वा गलत भन्ने बहस निक्कै चर्किएको छ । सामाजिक सञ्जालमा रावललाई कारबाही गर्नु गलत थियो भन्नेहरूको मत पनि ठुलै छ ।

नेकपा एमालेले रावललाई कारबाही गर्नु ठिक थियो वा गलत भन्नु अघि पहिला यी तथ्य हेर्नु जरूरी छ ।

नेकपा एमालेको १० औँ महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा केपी ओलीसँग  प्रतिस्पर्धा गरेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षमा रहेर काम गर्न आग्रह गरेपनि उनको आग्रह ठाडै अस्वीकार गरी रावलले ‘म तपाईँसँगै प्रतिस्पर्धा गर्ने हो’ भन्दै चुनावी प्रक्रियामा होमिएका थिए । चुनाव भयो, रावल केपी ओलीभन्दा ९१ प्रतिशतभन्दा कम मत पाएर पराजित भए ।

निर्वाचन अघि नै पार्टीको विधान अधिवेशन भएको थियो । महाधिवेशन हलमा पनि विधानको विषयमा केही हेरफेर भयो । सर्वसम्मतिमा विधान पारित भयो । चुनाव हारेपछि रावलले त्यही विधान मान्दिन भन्ने घोषणा गरे ।

एमाले विधानमा अध्यक्षसहित पदाधिकारी स्वतः केन्द्रीय सदस्यको उम्मेदवार पनि हुने व्यवस्था थियो, उनको पनि कायम रह्यो । प्रतिनिधिले अध्यक्षमा हराए तर केन्द्रीय सदस्यमा जिताए।

रावलले प्रतिनिधिको भावना कुल्चँदै विधान नमानेर केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नै दिएको छैन, म केन्द्रीय सदस्य पद स्विकार्दिन भन्दै सार्वजनिक घोषणा गरे । एक किसिमले भन्ने हो भने रावलले प्रतिनिधिहरूको मतको अपमान गरे ।

त्यो घोषणाले उनी एमाले विधानअनुसार स्वतः सल्लाहकार परिषद्को सदस्य रहने व्यवस्थातिर गयो । उनले सल्लाहकार परिषद् सदस्य पनि अस्वीकार गरे । अर्थात् बिद्यावारिधि गरेका रावलले बौद्धिक तरिकाले म एमालेमा बस्दिन, एमालेको विधान मान्दिन भन्ने सार्वजनिक घोषणा गरे ।

रावलमा चेत आउँछ कि भनेर नेतृत्व लामो समयसम्म पर्ख र हेरको अवस्थामा रह्यो । तर उनी सच्चिने र अनुशासनमा बस्ने होइन, मलाई कसले छुन सक्छ भन्दै सार्वजनिक रूपमा पार्टी विरुद्ध अभिव्यक्ति दिँदै हिँड्न थाले । नेतृत्वलाई खुइल्याउँदै हिँडे।

त्यतिले मात्र पुगेन उनी नयाँ पार्टी बनाउने अभियानमा नै लागे । एमालेमा छु भन्ने एमालेको विधान, विधि, पद्धति नमान्ने, पार्टीको निर्णय नटेर्ने, पार्टी सदस्यहरूको अभिमतलाई लत्त्याउने, नेतृत्वको खोइरो खन्ने रावल अन्ततः नयाँ पार्टी खोल्ने अभियानमा लागेको सूचना नेतृत्वलाई थियो ।  रावललाई पार्टीबाट नहटाउँदा एमाले फुटाएर नयाँ पार्टी बनाएँ भन्दै डङ्का पिट्ने अवस्था थियो । त्यही कारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय पार्टीले लियो ।

भीम रावल एमालेबाट सुविधा लिने त्यस्तो व्यक्ति हो जसको जति सुविधा अन्य कुनै नेताहरूले सायदै लिएका छन् । भीम रावलले देश र पार्टीलाई योगदान नगरेका भने होइनन् तर उनी माथि पार्टीको योगदान पनि कम्तीको छैन । उनलाई पार्टीले काँधमा नै राखेर लगानी गरेको छ ।

२०४६ सालमा अन्तरिम सरकारमा झलनाथ खनाल मन्त्री हुँदा रावल उनको स्वकीय सल्लाहकार थिए । २०५२ सालमा उनी एमालेको तर्फबाट पर्यटन राज्यमन्त्री बने । २०५५ सालमा रावल पुनः पार्टीको तर्फबाट पर्यटन मन्त्री बने ।

रावललाई २०६२ मा पार्टीले शिक्षा मन्त्री सिफारिस गर्‍यो तर खोजेको मन्त्रालय नपाएको भन्दै उनले सरकारमा नै जान मानेनन् । नेतृत्वले गरेको लाडप्यारले रावल मात्तिए।

रावललाई २०६४ मा भएको संविधान सभा निर्वाचनमा पार्टी नेतृत्वले थप माया गरेर समानुपातिक सभासद् बनायो । रावललाई २०६६ मा गृह मन्त्री जस्तो जिम्मेवार पदमा पार्टीले पुर्‍यायो । २०७२ सालमा त उनलाई पार्टीले त्यहाँ भन्दा माथि उपप्रधानमन्त्री सहित रक्षा मन्त्री बनायो ।

पार्टीको बुटवल महाधिवेशनमा उपाध्यक्ष हारे पनि केन्द्रीय सदस्य जितेका रावलले सो पदको शपथ लिएनन्, सो समयमा उनी कुनै पार्टी काममा पनि जोडिएनन्। तर २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारको गृह मन्त्री बन्न पाउने भएपछि उनले हतार हतार केन्द्रीय सदस्य पदको शपथ लिएर गृह मन्त्री बन्न दौरा सुरुवाला सिलाए ।

रावले एमालेले तत्कालीन सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद् अवरोध गरिरहेको बेला पार्टीको ह्विप उलङ्घन गरे । उनले पार्टीको आदेश उल्लङ्घन गर्दै एमसिसी पारित गर्ने संसद् बैठक भाग लिए । त्यहाँ पनि रावलले पार्टीको निर्देशन मानेनन्, पार्टी नेतृत्वलाई टेरेनन् । आफ्नो अराजकता प्रदर्शन गरिरहे ।

नेकपा  विभाजन पछि नेकपा एमाले संकटमा थियो । नेकपाबाट माओवादी छुट्टिएर गए लगत्तै माधव नेपालले पार्टी  विभाजन गरे । पार्टी जोगाउन माधव नेपालको पक्षमा रहेका कतिपय नेताहरूसँग छलफल चल्यो । १० बुँदे सहमति भयो । सो सहमति अन्य नेताहरूले माने । त्यसलाई स्विकारे उनीहरू पार्टी काममा जोडिए तर रावल सडकमा छाडा छाडेको साँढे जस्तै गरी डुक्रिँदै र खोस्रिँदै हिँड्न थाले  । पार्टीलाई लाभ हुने होइन हानी हुने गतिविधि गदै हिँड्न थाले ।

पार्टी माथि चौतर्फी घेराबन्दी भएको बेला देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । सो निर्वाचनमा पनि रावलको गतिविधि पार्टीको पक्षमा भएन । उनको गतिविधि विपक्षीलाई सहयोग पुग्ने खालको नै भयो ।  परिणामस्वरूप उनकै नगरपालिका साँफेबगरमा समेत गठबन्धनबाट एकीकृत समाजवादीले चुनाव जित्यो । भीम रावलकै गाउँमा एमालेले चुनाव हार्‍यो ।

रावल चर्चामा आउनको लागि अनेक खालका अभिव्यक्ति दिँदै हिँडिरहे। उनी आफू बाहेक सबैलाई राष्ट्रघाती भन्दै हिँड्न लागे। सबैभन्दा बढी राष्ट्रघाती आफ्नै पार्टी नेतृत्व भएको अभिव्यक्ति दिनथाले। मनलाग्दी बोल्ने, पार्टी हित विरुद्ध गतिविधि गर्ने रावलको दैनिकी नै बन्यो । उनले पार्टी भित्रै छु भन्दै पार्टी र पार्टी नेतृत्व विरुद्ध लगातार विष बमन गरिरहे ।

जुन नेता पार्टीको काममा लाग्दैन, पार्टीको हितमा बोल्दै, पार्टी नेतृत्वलाई जोगाउने होइन, खुइल्याउने काममा लाग्छ । त्यस्तो व्यक्ति पार्टीमा रहेर पार्टीलाई के फाइदा हुन्छ । अनि त्यस्ता मान्छेलाई कारबाही गर्दा कोही उफ्रिन्छ र सामाजिक सञ्जाल रङग्याउँछ भने त्यो कसरी एमाले कार्यकर्ता हुनसक्छ ? कसरी पार्टीको शुभचिन्तक र पार्टीको हित चिताउने व्यक्ति हुन्छ ?

रावलले विगतमा आफ्नो आदेश नमानेकै भरमा जनसंगठनका पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका केन्द्रीय विभागमा रहेका सदस्यहरूलाई अपमानपूर्वक हटाएको कुरा धेरै नेता, कार्यकर्ताले बिर्सिएका छैनन् । उनको शैलीसँग सबै परिचित नै छन् । रावलले कत्लेआम गर्न भनिएका ती नेताहरू आज उनकै पक्षमा उभिनु एमालेको हितको पक्षमा हो कि विपक्षमा ? गम्भीर प्रश्न खडा भएको छ ।

आफूले पाएसम्म भोग गर्ने, आफ्नो अनुकूल हुँदासम्म प्रयोग गर्ने, आफूले नपाउनु बित्तिकै आफैँ बसेको घरमा आगो लगाउने प्रवृत्ति हो भीम रावल प्रवृत्ति ।

adb bank long