काठमाडौं। चार दिने चीनको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भएपनि छिटै भारत भ्रमणमा जाने बताएका छन् ।
आज बिहीवार स्वदेश फर्के लगत्तै प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलको अति विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
त्यसैगरी ओलीले चीन भ्रमणका क्रममा ऋण लिने गरी कुनै पनि सम्झौता नभएको बताएका छन्। ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको उनको भनाइ छ । उनले चीनसँग ऋण लिन लाग्यो भन्दै भ्रम छर्ने काम भएको जिकिर गरे।
त्यस्तै उनले अबको १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेर बहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहर्याए।
चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको उनले जानकारी दिए।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो।
प्रधानमन्त्री ओली स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गर्दै सलामी अर्पण गरेको थियो।