सबै पार्टीको सहयोग लिएर अगाडी बढ्ने काङ्ग्रेसको विरासत ढालेकी उमाको उद्घोष

Telecom

काठमाडौ । दोलखाको गौरीशंकर गाउँपालिकामा भएको स्थानीय तह उपनिर्वाचनबाट उपाध्यक्ष पदमा निर्वाचित एमाले उम्मेदवार उमा शेर्पाले आफ्नो जीत व्यक्तिगत जीत नभएर सिङ्गो गौरीशंकरवासी र विकास प्रेमीको जित भएको बताएकी छन्।

उपाध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिँदै शेर्पाले मतदाता, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सुरक्षाकर्मी, सञ्चारकर्मी सबैमा धन्यवाद दिएकी छन् । शेर्पाले आफ्ना प्रतिस्पर्धी एकीकृत नेकपा माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पा, नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पा तामाङ लगायत उपनिर्वाचनमा भाग लिने सम्पूर्ण राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूप्रति पनि सम्मान व्यक्त गरेकी छन् ।

निर्वाचनमा हार–जीत स्वाभाविक हुने बताउँदै शेर्पाले उपनिर्वाचनमा आफूले विजयी हासिल गरेको भए पनि भोलिका दिनमा सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेकी छन् । ‘आगामी यात्रामा गौरीशंकरवासीको हितका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सडक लगायतका अधुरा रहेका विभिन्न विकास निर्माणका कार्यहरूमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु, जसका लागि सबैको साथ सहयोग रहने नै छ भन्ने मैले विश्वास लिएको छु’, उनले भनिन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा शेर्पाले २ हजार ८ सय ५ मत ल्याई उपाध्यक्षमा विजयी भएकी हुन् । सो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत पाएकी थिइन् । नेपाली कांग्रेसकी पासदिकी शेर्पाले भने १ हजार ७ सय २७ मत ल्याएकी थिइन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत पाउँदा राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका हुन् ।

adb bank long